अहिलेसम्म कुनै औषधि सेवन नगरेका सत्यमोहन जोशीले मनाए ९९औं जन्मोत्सव

काठमाडौ । शताब्दीपुरुष संस्कृति विद् सत्यमोहन जोशीले आईतबार आफ्नो ९९ औ जन्मोत्सव मनाएका छन् ।

९९ औ जन्मोत्सवका अवसरमा शुभकामना दिन आईतबार लतिलपुरको पाटनस्थित जोशी निवासमा उल्लेख्य संख्यामा सर्वसाधरण , शुभचिन्तक , इष्टमित्रहरु पुगेका थिए । जोशी निवासमा बिहानैदेखि शुभकामना दिनेहरुको भीड लागेको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि उनको निवास पुगी जन्मदिनको शुभकामना दिए । उनले जोशीलाई दोसल्ला ओढाई सम्मानका साथ उपहार पनि दिए।

९५ बर्षकै उमेरमा सरकारले उनलाई शताब्दी पुरुषको सम्मान प्रदान गरेको थियो । ९९ औ जन्मदिवस मनाईरहँदा आफुले अहिलेसम्म कुनै पनि औषधी प्रयोग गर्नु नपरेको भन्दै जोशीले खुसी व्यक्त गरे।

बाबु शंकरराज जोशी र आमा राजकुमारीका सुपुत्रका रुपमा वि.स. १९७७ बैशाखमा ललिपुरको बखुम्बहालमा जन्मेका सत्यमोहन जोशी संकृतिविद् र साहित्यकारका रुपमा चिनिन्छन् । उनले त्रिचन्द्र कलेजबाट स्नातक तह अध्ययन गरेका छन् । उनी २०१५ सालमा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक बनेका थिए ।

तीन पटकसम्म मदन पुरस्कार पाएका जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक ५, काव्य २ र कथासंग्रह ५ तथा नेवारी भाषाका करिव ५० कृति प्रकाशित छन् । हाम्रो लोकसंस्कृति नामक ग्रन्थ लेखेर २०१३ सालमा उनले मदन पुरस्कारबाट पुरस्कृत भएका थिए ।

त्यसैगरी पाँचौ शताब्दीदेखि बिसौ शताब्दीसम्मको मुद्राको विस्तृत विवरणसहितको नेपाली राष्ट्रिय मुद्रा नामक कृतिका लागि उनलाई २०१६ सालमा दोश्रो पटक पनि मदन पुरस्कार दिइएको थियो । कर्णाली लोकसंस्कृति नामक ग्रन्थमा भने उनलाई संयुक्त रुपमा मदन पुरस्कार प्रदान गरिएको थियो ।

नेपाली भाषा, कला , संस्कृतिको संरक्षण , सम्बर्द्धन र विकासमा पुराएको योगदानको कदर स्वरुप उनले सुप्रबल गोर्खा दक्षिणबाहु, विख्यात त्रिशक्तिपट्ट र आदिकवि भानुभक्त पुरस्कार प्राप्त गरेका छन् ।

उनलाई काठमाण्डौ विश्वविद्यालयले मानार्थ विद्यावारिधीको पदक दिएको छ । नेपाल सरकारले पनि उनलाई उज्जवल कीर्तिमान राष्ट्रद्धीपले सम्मानित गरेको छ । उनी २०६९ सालमा पद्मश्री साधना सम्मानबाट पनि सम्मानित भएका थिए।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..