सरकारद्वारा भाजपाका सांसद आजादको अभिव्यक्तिको निन्दा

काठमाडौ । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सत्तारुढ भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको कडा शब्दमा निन्दा गरेको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सत्तारुढ भारतीय जनता पार्टीका सांसद आजादको अभिव्यक्ति निन्दनीय र भत्सर्नायोग्य रहेको भन्दै आपत्ति जनाउनु भएको हो । सोमबार प्रतिनिधिसभामा सांसदहरुले भारतीय सांसद आजादले ‘जनकपुर भारतमा फर्काउनु पर्छ’ भनेर ट्वीट गरेकोमा आपत्ति जनाएपछि परराष्ट्रमन्त्री ज्ञवालीले सो सम्बन्धमा भारत सरकारको गम्भिर ध्यानाकर्षण गराउने जानकारी समेत दिनु भयो । उहाँले नेपाल–भारत सम्बन्ध बिगार्नेगरी सांसद आजादले गलत मनसाय राखेको आरोप पनि लगाउनु भयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा नागरिक अभिनन्दन गर्नेक्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति संविधान र कूटनीतिक मर्यादा विपरित भएको स्विकार गर्दै आईन्दा त्यस्तो गल्ती हुन नदिन सरकार सचेत रहेको पनि स्पष्ट पार्नु भयो । उहाँले संघीय सरकारले परराष्ट्र सम्बन्धलाई हेर्ने काम गर्छ भन्ने हेक्का राख्न पनि मुख्यमन्त्री राउतलाई सचेत गराउनु भयो ।

मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन गर्ने क्रममा ‘संविधानविरुद्ध संघर्ष गरिरहनु परेको’ सार्वजनिक अभिव्यक्ति दिनु भएको थियो । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोही धारणाप्रति आपत्ति जनाउँदै सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए । मन्त्री ज्ञवालीले आईन्दा त्यसो हुन नदिन सरकार सचेत रहेको बताउनु भयो ।

उहाँले सरकारले विगतमा भएका सहमति आगामी असोज ३ गते संविधान दिवसको दिन भित्र कार्यान्वयन हुने गरी भारतीय प्रधानमन्त्री मोदीसँग द्धिपक्षीय छलफल गरेर गर्व गर्न लायक काम गरेको दावी समेत गर्नु भयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले सरकार राष्ट्रहितसँग सम्बन्धित विषयलाई कार्यान्वयनमा लैजान भारत सरकारसँग आवश्यक पहल गर्न प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..