काँग्रेसको धम्कीपछि नियमावली पारित गर्ने प्रक्रिया नै अवरुद्ध

काठमाडौ । प्रतिनिधिसभाको नियमावली पेश गरे सदनको कामकारवाही अवरुद्ध गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चेतावनीपछि नियमावली प्रतिनिधीसभाबाट पारित गर्ने प्रक्रिया नै अवरुद्ध भएको छ ।

बुधबार प्रतिनिधिसभा बैठक अघि बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा काँग्रेसले बिना सहमति प्रतिनिधिसभाको नियमावली सदनबाट अघि बढाए सदन अवरुद्ध गर्ने चेतावनी दिएको थियो ।

प्रतिनिधिसभा नियमावलीमाथि परेको संशोधनमा मतदान गर्नेगरी बुधबार संसदमा प्रस्तुत गर्ने तयारी संसद सचिवालयको थियो । नियमावलीमा फौजदारी अभियोग लागेका सांसद पक्राउ पर्ने बित्तिकै स्वतः निलम्बित हुने व्यवस्था छ । तर यसमा दलहरुबीच विवाद रहँदै आएको छ ।

सत्तारुढ एमाले र माओवादीले फौजदारी अभियोग लागेर पक्राउ पर्ने बित्तिकै स्वतः निलम्बित हुने व्यवस्थासहित नियमावली पारित गर्नु पर्ने बताउँदै आएको छ । तर, कांग्रेस, राजपासहितका दलका सांसदले भने यसको विरोध गरेका छन् ।

संसद बैठकपछि सभामुख कृष्णबहादुर महराले नियमावली सकेसम्म विवादरहित बनाउँदै सहमतिमा अघि बढाउन प्रयास भईरहेको जानकारी दिनुभयो । उहाँले समितिको संख्याका विषयमा पनि विवाद रहेको बताउनुभयो ।

त्यस्तै एमाले नेता भानुभक्त ढकालले आगामी जेष्ठ ४ गते बस्ने बैठकमा नियमावली पेश गर्ने र त्यसबीचमा सहमतिको प्रयास गर्ने बताउनुभयो ।

प्रतिनिधिसभा नियमावली मस्यौदाको दफा २४३ को ३ मा रहको फौजदारी अभियोग लागेको सांसद थुनामा रहेको अवधिभर निलम्वनमा रहनेको सट्टा तीन वर्ष वा सो भन्दा बढी कैद सजाय हुने वा नैतिक पतन देखिने फौजदारी अभियोग लागेको सांसद स्वतः निलम्बन हुनेछ’ भन्ने प्रस्ताव गरिएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..