इपिएल तेश्रो दिन विराटनगर र भैरहवाको जित

काठमाडौ । एभरेष्ट प्रिमियर लिग क्रिकेटमा विराटनगर वारियर्सले लगातार दोस्रो जित हात पार्दा भैरहवा ग्लाडिएटर्सले विजयी सुरुवात गरेको छ ।

टियू क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा शरद भेषावकरको टोली भैरहवाले फारविज महारुफको टोली काठमाडौंलाई ७ विकेटले पराजित गरेको छ । प्रतियोगितामा काठमाडौंको यो लगातार दोस्रो पराजय हो । ११९ रनको लक्ष्य पाएको भैरहवाले १६.२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको छ ।भैरहवाका लागि बिदेशी खेलाडी पुनीत विष्टले सर्वाधिक ४२ रनको पारी खेले । अविजित रहेको उनले २८ बल खेलेर ६ चौका प्रहार गरे । कप्तान शरद भेषावकरले पनि ३२ रन बनाए । त्यस्तै आरिफ शेखले पनि ११ बलमा २३ रनको विष्फोटक अविजित पारी खेले ।

बलिङमा काठमाडौंका सोमपाल कामी, अमरसिंह रौतेला र सुशील कँडेलले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौंले निर्धा्रित ओभरमा ८ विकेट गुमाउँदै मात्र ११८ रन बनायो । काठमाडौंका लागि अमित श्रेष्ठले २९, सागर कुमारले २८, राजु रिजालले २२ र सागर पुनले १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङतर्फ भैरहवाका दिपेश श्रेष्ठले ३ विकेट लिए भने कप्तान भेषावकरले २ विकेट लिए । टिमका लागि अलराउण्ड प्रदर्शन गरेको भैरहवाका कप्तान भेषावकर म्यान अफ द म्याच चुनिए । यस्तै राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगरले पोखरा राइनोजलाई तीन विकेटले पराजित गर्दै चार अंक बटुलेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय २२ रनको योगफल तयार पारेको थियो । पोखराका लागि राजेश पुलामीले सर्वाधिक ३० रनको योगदान दिँदा इस्रा ल्लाहले २१ रन बनाए ।

सुनिल धमला र ताज वालीले १८–१८ रन बनाए भने सौरभ खनालले १६ रन जोडे । पोखरालाई सस्तैमा समेट्नका लागि कप्तान पारस खड्काले तीन विकेट लिए भने अविनाष कर्ण, बसन्त रेग्मी र रामनरेश गिरीले एक एक विकेट हात पारे ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..