ढिकीजाँतो विदा गरी आधुनिक प्रविधिमा रमाउँदै भण्डारी दम्पती

पोखरा।  विगतमा ढिकी जाँतोमा अनुभव गरेका पोखरा लेखनाथ महानगरपालिका–२१, बांँझीपोखरीका भण्डारी दम्पतीका लागि आधुनिक कुटानी पिसानी मेसिनको प्रयोग यतिखेर दैनिकी बनेको छ ।

सात दशकको उमेर काटिसकेका ७५ वर्षीय रविलाल भण्डारी र जीवनको छ दशक यात्रा पार गर्नुभएकी उहाँकी श्रीमती इन्द्रकला भण्डारीले एक वर्षअघि रु ३२ हजार मूल्य तिरेर ल्याएको कुटानी पिसानी मेसिन आफ्ना लागि त सहज भएको छ नै छिमेकी पनि त्यसबाट लाभान्वित भएका छन् ।

चार छोरा र दुई छोरीका अभिभावक भण्डारी दम्पती छोरा छोरी सेवा, पेसा र व्यवसायका क्रममा घरभन्दा बाहिर रहेपनि बुढ्यौली जीवनलाई पनि क्रियाशील बनाएर सबैका लागि अनुकरणीय बन्नुभएको छ ।

“शुरुमा त आफ्नै घरको लागि मात्र भनेर यो धान कुट्ने तथा मकै, कोदो पिस्ने मेसिन किनेका हौँ,” रविलालले भन्नुभयो “अहिले भने घर वरपरका छिमेकी पनि धान, मकै र कोदो लिएर आउने गरेका छन् ।”

विगतमा रातको २ बजेदेखि घरमा आवश्यक पर्ने चामल तथा पिठोका लागि ढिकीजाँतोको प्रयोग गर्ने गरेकी इन्द्रकलालाई आधुनिक मेसिनको प्रयोग गर्न पाउँदा अचम्म लागेको छ ।

“मेसिनको प्रयोग नहँुदासम्म घरमा नै कुटानी पिसानी गर्नुपर्ने बाध्यता थियो भने गाउँमा मेसिन आए पछि पनि बोकेर टाढाटाढा पु¥याउनु पथ्र्यो,” उहाँले भन्नुभयो, “अहिलेका पुस्ताका लागि भने हाम्रो देखाइ र भोगाइ एकादेशको कथा जस्तै भएको छ ।”

आधुनिक मेसिनले एक घण्टामा तीन मुरीसम्म धान कुट्ने गरेको बताउँदै उहाँले एक वर्षयता मेसिन ल्याएपछि गाउँका छिमेकी पनि धान मकै लिएर आउने गरेको उहाँले बताउनुभयो ।

चीनमा निर्मित सो मेसिन आवश्यकताअनुसार जता पनि सार्न सकिने बताउँदै भण्डारी दम्पतीले धान कुटेको प्रतिपाथी रु तीन एवं मकै र कोटो पिसेको प्रतिपाथी रु पाँच लिने गर्नुभएको छ ।घरको नजिकै धन्सारमा राखिएको उक्त कुटानी पिसानी मेसिनबाट आर्थिकरुपमा फाइदा नभए पनि गाउँलेले समेत सुविधा पाएकोमा इन्द्रकला भने दंग पर्नुभएको छ ।

ढिकी जाँतोको विकल्पमा मेसिनको प्रयोग गरेका भण्डारी दम्पतीले घरमा खेतबारी जोत्नका लागि हाते ट्र्याक्टर पनि खरिद गर्नुभएको छ । हाते ट्र्याक्टरको प्रयोग भने उहाँको जेठो छोरा वसन्त भण्डारीले गर्दै आउनुभएको छ । पोखराको विरौटामा बाराही नर्सरी सञ्चालन गर्दै आउनु भएका भण्डारीका अनुसार उक्त ट्र्याक्टर जिल्ला कृषि विकास कार्यालयको रु ४० हजार अनुदानसहित रु एक लाख १० हजारमा खरिद गरिएको हो ।– हरि बाँस्तोला /रासस

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..