प्रधानमन्त्री ओलीले भने–देश र जनतालाई समृद्ध बनाउँछु भन्दा मजाक उडाइयो

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीलाई समृद्ध बनाउँछु भन्दा विपक्षीले मजाकमा उडाएको दुखेसो गर्नुभएको छ ।

आईतबारको प्रतिनिधीसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिदै उहाँले नेपाल र नेपालीलाई सुखी बनाउने योजना ल्याउदा मजाक गरिएको बताउनुभएको हो ।

विपक्षी दलबाट उठाईएको प्रश्नको ठोस जवाफ दिनुको सट्टा उहाँले नेपाली जनतालाई गरिब हुन नदिने उही पुरानै विषयमा धेरै व्याख्या र लामो भुमिका बाँध्नुभयो । उहाँले नीति तथा कार्यक्रम आकाक्षा हिन नभएको र असंभव महत्वकाक्षा नलिएको दाबी समेत गर्नुभयो । राष्ट्रिय आकांक्षालाई पुरा गर्न अघि बढ्नुपर्छ भन्ने संदेश नीति तथा कार्यक्रमले दिएको उहाँले स्पष्ट पार्नुभयो ।

सम्बोधनका क्रममा पटक पटक प्रतिपक्षीलाई व्यङ्गय मिश्रित जवाफमा कार्ययोजना पुरा गर्ने ठोस आधार भन्दा थप सुनौला आयोजना र आश्वासनहरु थपिएका थिए । जलमार्ग, रेलमार्ग देखि ल्यापटप अगाडि राखेर मन्त्रीपरिषद् बैठक गर्ने सम्मका आश्वासन प्रधानमन्त्रीले दिनुभयो । उहाँले नीति तथा कार्यक्रक रातमा देखेको सपना नभई दिउसै देखेकाले सरकारले पुरा गर्ने दाबी गर्नुभयो ।

“हेर्दा हेर्दै कोशीबाट, गण्डकीबाट, कर्णालीबाट स्टिमरमा हामी समुन्द्रसम्म जान्छौ । हाम्रो प्रणाली जलमार्ग हो । रेलमार्गको कुरा गर्दा बाल्टीमा कागजका डुंगा जस्तो बनाएर मजाक उडाउछन् । मजाक उठाउने विषय हो र यो ? रेलबाट हामी ढुवानी गर्छौ ।” नीति तथा कार्यक्रमहरु योजनाहिन ढंगले नआएको भन्दै उहाँले भन्नुभयो “एक जना मित्रले भन्नुभयो दिवा सपना, हो दिवा सपना नै हो । दिउँसै देखेको सपना हो । त्यो राती निदाएको बेला देखेको होइन । ” सरकार अब सुचना प्रविधिको क्षेत्रमा धेरै अगाडि बढ्ने भन्दै उहाँले भन्नुभयो “अब मन्त्रीपरिषद्को बैठक कागजका चाङ्ग अगाडि राखेर होइन ल्यापटप अगाडि राखेर गर्छौ । ” नीति तथा कार्यक्रममा उल्लेख गरिएका विषयमा मन दुखाउनुपर्ने कारण नरहेको भन्दै उहाँले भन्नुभयो “मेरो घरमा सोलार जोडेर बत्ती बाल्छु भनेको होइन ,देशभरी बत्ती बाल्छु भनेको हो । त्यही पनि साथीहरुको प्रसन्न मुद्रा देख्दिनँ । ”

नीति तथा कार्यक्रम कुनै वादको पछाडि नहिडेको भन्दै उहाँले नया कुरा परेपछि सहन गाहे भएको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसलाई व्यङ्गय गर्नुभयो । उहाँले संविधान संसोधनका बारेमा भ्रम नपाल्न आग्रह गर्दै आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन गर्न सकिने बताउनुभयो । अनावश्यक संविधान संसोधनका विषयमा समस्या देखाएर नबस्न आग्रह पनि गर्नुभयो । नेपाली नागरिकताको विषयमा देखिएका समस्या पनि समाधान हुने उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिपक्षी दलले केही नपाएपछि धुमधामसंग राष्ट्रपतिको सम्बोधनको विषय उठाएको भन्दै उहाँले एउटाको सम्मान खोज्दै गर्दा अर्को निकायमाथि अपमान गर्ने काम नगर्न प्रतिपक्षी दललाई सचेत गराउनुभयो । सम्बोधनमा सरकारले गल्ती गरेको वा नगरेको भन्नेमा स्पष्ट नपारिकनै उहाँले चेतावनी शैलीमा भन्नुभयो “आईन्दा आफैलाई ध्यान दिनोस् । ”

राष्ट्रपतिबाट भएको सम्बोधनमा संघिय संसदको अपमान भएको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ती जनाएको थियो ।
सामाजिक न्याय र समानताको आधारमा सरकार अघि बढ्ने भन्दै प्रधानमन्त्री ओलीले सामाजिक विविधताको विषयलाई वैमनश्य नभई विविधता र सम्पुर्णताको विषय बनाउनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले प्रतिपक्षले धर्म निर्वाह गर्नका लागि संसोधन हाल्नुपर्ने र अलिकति असहमति प्रकट गर्नुपर्ने चलनमा नै प्रतिपक्षी दलका सांसदहरुबाट आएका आलोचना र टिप्पणीहरु सिमित भएको टिप्पणी पनि गर्नुभयो ।

उहाँले नीति तथा कार्यक्रम बजेट नभएको र सविस्तार जानुपर्ने आवश्यकता नरहेको बताउनुभयो । उहाँले छलफलमा सक्रियताका साथ सहभागी हुने र सुझाव दिने सबै सांसदलाई धन्यवाद दिनुभयो । जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आथिक बर्ष ७५÷७६ का लागि सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..