सट्टेबाजारीमा संलग्न फुटबलका पूर्व प्रशिक्षक केसीसहित ६ जना पक्राउ

काठमाडौ । आईपिएल क्रिकेटसहित विभिन्न अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सट्टेबाजी गरी जुवा खेलाउने नेपाली फुटबल टिमका पूर्व खेलाडी एवम् प्रशिक्षक अन्जन केसीसहित ६ जनालाई पक्राउ गरिएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आईपिएल क्रिकेटसहितका अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सट्टेबाजी गरी जुवा खेलाउने कार्यमा संलग्न नेपाली फुटबल टिमका पूर्व खेलाडी केसीसहित ६ जनालाई पक्राउ गरिएको जानकारी गराएको हो ।

पक्राउ पर्नेहरुमा केसीसहित काठमाडौं मैतिदेवीका २७ वर्षीय गौरव तिवारी, काभ्रे भुन्डु गाउँपालिका घर भई हाल काठमाडौं गोल्कोपाखा बस्ने ३८ वर्षीय भुपेन्द्र शमशेर कुँवर, नुवाकोट ककनी घर भई हाल बालाजु बस्ने २७ वर्षीय दिनेश बोगटी, भक्तपुरका बोलाछेका ३६ वर्षीय विजय श्रेष्ठ र भक्तपुर बोलाखुका ३१ वर्षीय नरेन्द्र सुवाल रहेका छन ।

६ जनालाई सोमबार अपरान्ह काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कार्वाही प्रक्रिया सुरु गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिनु भयो ।

प्रहरीले विभिन्न अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा सट्टेबाजी गरी जुवा खेलाउने गरेको विशेष सूचनाको आधारमा गत १३ गते मैतिदेवीका तिवारीलाई पक्राउ गरी उनको मोवाईल र ल्यापटपका उल्लेखित रकर्डको आधारमा अन्य ५ जनालाई पनि पक्राउ गर्न सफल भएको हो ।

सट्टेबाजी खेलाउने क्रममा तिवारीसँग ७ करोड ४७ लाख २ हजार, कुँवरसँग ३ करोड २२ लाख ९७ हजार, पूर्व राष्ट्रिय फुटबल खेलाडी केसीसँग २ करोड ७७ लाख २ हजार, सुवालसँग ७७ लाख बैंक खातामा रकम देखिएको पनि प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको एसएसपी पोखरेलले बताउनु भयो । केसी यस अघि पनि फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परी विशेष अदालतबाट धरौटिमा छुटेका थिए ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..