सरकारले तीन महिनाभित्र दरबारमा रहेको राजमुकुट सार्वजनिक गर्ने

काठमाडौ । सरकारले तीन महिना भित्र नारायणहिटी दरबार संग्राहलयमा राजमुकुट सार्वजनिक गर्ने घोषणा गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले राजसंस्थाको प्रतिकको रुपमा तत्कालीन राजाले लगाउने राजमुकुट नारायणहिटी दरबार संग्राहलयमा ३ महिना भित्र सार्वजनिक गर्ने योजना अघि सार्नु भएको हो ।

यस अघि पनि सरकारले राजमुकुटलाई सार्वजनिक गर्ने प्रतिवद्धता पटक–पटक सार्वजनिक गर्दै आएको थियो । बुधबार नारायणहिटी दरबार संग्राहलयको अनुगमनमा पुग्नु भएका मन्त्री अधिकारीले संचारकर्मीमाझ संग्राहलयको उचित व्यवस्थापनका लागि गुरु योजना बनाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

नारायणहिटीको ऐतिहासिकता मर्न नदिन पनि गूरु योजना बनाउने सोच आफूले अघि सारेको मन्त्री अधिकारीले स्पष्ट पार्नु भयो ।

मन्त्री अधिकारीले नारायणहिटी दरबार संग्राहलयमा निर्माणाधिन गणतन्त्र स्मारकको काम पनि छिट्टै सम्पन्न हुने आश्वासन दिनु भयो । मुलुकमा गणतन्त्र स्थापना भएसँगै सरकारले नारायणहिटी राजदरबारलाई संग्राहलयको रुपमा नामाकरण गरेको थियो ।

राजतन्त्र र त्यसको ऐतिहासिकता मर्न नदिन सरकारले यसलाई संग्राहलयमा परिणत गरेको हो । मन्त्री अधिकारीले नारायणहिटी संग्राहलयको ऐतिहासिकता मर्न नदिन सरकार सचेत रहेको स्पष्ट पार्नु भयो । सरकारले यो संग्राहलयको उचित व्यवस्थापनका लागि छुट्टै समिति बनाउने योजना पनि तय गरेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..