बन्धुहरुको मन खुलेपछि नयाँ जीवन पाउँदै प्रकाश बस्नेत

‘मनबिनाको धन ठुलो कि धनबिनाको मन’ यो गीत अहिले सबैतिर निकै चर्चित छ। यो गीतले एउटा प्रश्न गरेको छ । तर उत्तर छैन । तर, यो गीतले पाँचथरका प्रकाश बस्नेतका लागि भने उत्तर दिएको छ–उत्तर हो, मनबिनाको धन ठुलो होइन, धनबिनाको मन ठुलो हुने रहेछ ।

त्यसैले त उनी मृत्युको मुखबाट जीवनको नयाँ अध्याय सुरु गर्ने क्रममा छन् । उनी अस्पतालमा बोन म्यारोको उपचाररत छन् । उनी धन नभए पनि मन भएकाहरुको साथ पाएर नयाँ जीवन जिउने तयारीमा छन् । तर यो स्थितिको सिर्जना भएन सहजै भएको होइन ।

इलामका विनोद बस्नेत आफू कार्यरत अस्पतालमा फाइलहरु पल्टाउँदै थिए । यही क्रममा उनको आँखा अचानक एउटा फाइलमा अडियो, जसमा विरामीको नाम थियो प्रकाश बस्नेत । बस्नेत देख्ने बित्तिकै उनलाई थप बुझ्ने जिज्ञासा जाग्यो । बुझ्ने क्रममा पाँचथर हलियाङ गाउँपालिका–२ का २२ वर्षीय प्रकाश बस्नेतलाई  Aplastic Anaemia ( BONE MARROW FAILURE) भएको थाहा पाए । उनलाई बचाउन नयाँ BONE MARROW राख्नु जरुरी थियो । केही कमाउँला र घरपरिवारको अनुहारमा खुसी ल्याउँला भनेर वैदेशिक रोजगारीमा मलेसिया पुगेका प्रकाश थलिएर फर्किएका थिए । यो थाहा पाएपछि कुल र वंश भनेपछि हुरुक्कै हुने विनोदमा बन्धुत्व यसरी जागृत भयो कि उनले प्रकाशको उपचारमा सहयोग गर्ने अठोट गरे । त्यसका लागि परिवारसँग अनुमति मागे । अनुमति पाउने बित्तिकै विनोदले प्रकाशलाई उनकै दाई गोपाल बस्नेतका साथमा झापा, धरान हुँदै अहिले काठमाडौमा उपचार गराइरहेका छन् ।

सुरुमा त विनोदले देशविदेशमा रहेका बन्धुहरुबाट ५० हजार जति सहयोगको अपेक्षा गरेका थिए । तर प्रकाशको उपचारमा भने झण्डै २० लाख बढी खर्च लाग्ने थियो । उनले देशविदेशका अस्पतालमा गुगल र सम्भव भएसम्मका विज्ञहरुसँग बुझे । फेसबुकमा प्रकाशको उपचारमा सहयोग गर्न गरेको अपिलले विनोदलाई ५० हजार होइन, पाँच लाख दिलायो । उनमा अझ उत्साह थपियो । अब उनले १० लाखको लक्ष्य तय गरे । जब त्यो लक्ष्य पनि पूरा भयो तब विनोदले विरामीका दाई गोपालालई भने–अब भाइ बचाउन सम्भव छ।

प्रकाशको उपचारमा सहयोग हस्तान्तरण गर्न पुगेको खप्तडी बस्नेत कल्याणकारी कोषका पदाधिकारी तथा सदस्यहरुसँग विनोदले भने–हामी जसरी पनि प्रकाशलाई बचाउन चाहन्थ्यौ । त्यसमा बन्धुहरुको आत्मीयताले मेरो छाती गर्वले फूलेको छ ।

रकम संकलनमा सफलता प्राप्त हुँदै गए पनि अस्पतालमा उपचारका लागि बेड पाउन पनि सहज थिएन । एक दिन त प्रकाशले राजधानीको मिन भवनमा रहेको निजामति अस्पतालको खुल्ला चौरमै बिताए । यहीनिर कल्याणकारी कोष कोषाध्यक्ष विन्देश्वरी बस्नेतको पहल सार्थक रह्यो । त्यसैले अहिले प्रकाश निजामति अस्पतालको शैयामा उपचार गराइरहेका छन् ।

अब प्रकाशको उपचार सुरु भएको छ। हामी सबैले कामना गरौ उनी चाँडै स्वस्थ भएर हामीसँग हातेमालो गर्न आउनेछन् । यो घटनाले हामीलाई धेरै पाठ पनि सिकाएको छ। संगठिन हुनुपर्छ । भाइचारा, बन्धुत्व, कुल, वंश हितमा जुट्नुपर्छ । सहयोग हस्तान्तरण गर्न पुगेको खप्तडी बस्नेत कल्याणकारी कोषका संरक्षक एवं नेपाली सेनाको अवकाश प्राप्त सहायक रथी चिनियाँबहादुर बस्नेतले प्रकाशको सहयोगमा महत्वपूर्ण योगदान पुराउने विनोदलाई मुरीमुरी धन्यवाद दिए । विनोदको सार्थकको पहललाई सफल बनाउने सबै भाइबन्धुलाई धन्यवाद दिए । यो पहलमा सहयोग गर्ने विन्देश्वरी बस्नेतलाई पनि चिनियाँबहादुर बस्नेतले मनैदेखि धन्यवाद दिए ।

सुन्दा कथाजस्तो लाग्ने विनोदको पहल सुनेपछि केहीबेर कोषका पदाधिकारी तथा सदस्यहरु मुकझै देखिए । किनभने विनोदले प्रकाश र प्रकाशका परिवारलाई कहिल्यै चिनेकै थिएनन् । बस्नेत शब्द देखेर सुरुभएको विनोदको पहलले एउटा बस्नेतले नयाँ जीवन पाउँदैछ । विनोदलाई धन्यवाद दिँदै चिनियाँबहादुर बस्नेतले भने–तिम्रो पहलले एउटा मान्छेले जीवन पाएको छ । यही नै हो धर्म । धर्मका लागि चार धाम र तीर्थ गइरहनु पर्दैन । तिमीले जे ग¥यौ, हाम्रो छाती गर्वले फुलेको छ। सबैले यस्तै गर्दै जानुपर्छ ।

त्यसो त विनोद कुलका धामी पनि हुन् । उनले कुलवंशका बारेमा पुस्तकनै लेखेका छन् । उनले पनि भने–मलाई कुलले नै यो कर्म गर्न लगाएका हुन् । त्यसैले त प्रकाशलाई रगत नपाएर छटपटिँदै गरेका बेला सुनसरीबाट भोलाकाजी बस्नेतहरु आधा दर्जन रगत दिने मानिस लिएर दौडिएर आइपुग्नुभयो ।

त्यसैले भन्न सकिन्छ–धन मात्र भएर नपुग्ने रहेछ, मन भयो भने धन त जुट्ने पनि रहेछ । त्यसैले मन भएकाहरु धेरै हुन् । कुनै पनि मानिस उपचार नपाएकै कारण यो धरतीबाट विदा हुनुपर्ने छैन । आर्थिक अभावकै कारण अवसरहरु गुमाउनुपर्ने छैन । त्यसका लागि विनोदहरु अरु पनि चाहिन्छ । परेका बेला अघि सर्ने मनहरु अझ चाहिन्छ । त्यसका लागि संगठिन हुनु पनि पर्ने रहेछ । समयमै सूचना प्रवाह गर्न सक्नुपर्ने रहेछ । विनोदले समयमै सूचना प्रवाह गरेकै कारण अहिले प्रकाशको उपचार भइरहेको छ। अरु प्रकाशहरुको पनि जानकारी सबैतिर पुग्न सक्नुपर्छ।

प्रकाशको उपचारका लागि देश विदेशमा रहेका बन्धुहरुबाट संकलन गरिएको ५३ हजार बढी रकम प्रकाशका दाई गोपाल बस्नेतलाई हस्तान्तरण गरिएको थियो । यो रकम जुटाउन खप्तडी बस्नेतको कुल र वंश उत्थानमा अहोरात्र खटिरहने भारतकुमार बस्नेत, चिनियाँबहादुर बस्नेत, कोषका महासचिव कृष्णबहादुर बस्नेत, गीता बस्नेतहरुको ठुलो योगदान थियो । प्रकाशको उपचारमा झन्डै २० लाख बढी रकम खर्च हुने देखिएको छ। उनको उपचार सुरु भइसकेकाले अब थप रकम पनि जुट्ने अपेक्षा गरिएको छ।

भनिन्छ ‘थोपा थोपा’ मिलेरै समुद्र बन्ने गर्दछ । पैसाकै कुरा गर्ने हो भने पनि १ रुपैयाँ पुगेन भने त्यो ९९ रुपैयाँ मात्र रहन्छ । तर १०० जनाले १/१ रुपैयाँ संकलन गर्ने हो भने त्यो सहजै १०० पुग्छ । समुदायको हितका लागि यो फर्मूला निकै उपयोगी हुने देखिन्छ ।

देशविदेशमा रहेका बन्धुहरुको सहयोगले अब प्रकाशले नयाँ जीवन पाउँदैछन् । हामी पनि कुलसँग यही प्रार्थना गरौ कि उनी चाँडोभन्दा चाँडो स्वस्थ भएर अस्पतालको शैयाबाट हामी माझ आउन सकुन् । सबै कुरामा बन्धुहरु यसरी नै जुटुन् । कुलले यसरी नै जुट्ने सद्बुद्धि दिउन् । विनोदकै शब्द सापटी लिऔं–खप्तडी बस्नेतहरुलाई सबै पक्षमा सबल र सफल बनाउन भनेर अघि बढाऔं, धकेलेर अघि बढाऔं, नत्र लात्ती हानेरै भने पनि अघि बढाऔं । दिनेश बस्नेत

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..