भट्टराई निवास पुगेर ओलीले भने–जीवन रहेसम्म पूर्ण इमानका साथ काम गर्छु

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जीवन रहेसम्म पूर्ण इमानका साथ काम गर्ने बताउनु भएको छ ।

अध्यक्ष ओलीले आफ्नो परिभाषा भित्र राजनीतिमा बेइमान भन्ने शब्दावली नहुने पनि स्पष्ट पार्नु भयो । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मोत्सवको अवसरमा शनिवार ललितपुरस्थित भट्टराई आश्रममा आयोजित कार्यक्रममा बोल्दै उहाँले हरेक व्यक्तिको आयू सिमित हुने भएकाले आफूले त्यसमा चिन्ता कहिल्यै नगर्ने पनि बताउनु भयो ।

अध्यक्ष ओलीले ज्ञान, क्षमता, योग्यताको सिमा हुने भएकाले त्यसमा कसैले पनि चिन्ता गरिरहन नपर्ने पनि उल्लेख गर्नु भयो । उहाँले भट्टराईलाई आफ्नो समयको मुलुक हाँक्ने महारथीको रुपमा चित्रण गर्नु भयो । प्रधानमन्त्री बन्ने तयारीमा रहनु भएका अध्यक्ष ओलीले भट्टराईको सपना र मुलुक बनाउने अठोटलाई पूरा गर्न लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै काँग्रेस नेता प्रकाशमान सिंहले भट्टराई कर्म गर्ने तर फलको आशा नगर्ने सन्त नेता भएको स्मरण गराउनु भयो । उहाँले सबै दल मिलेर मुलुकलाई सही दिशामा अघि बढाउनु भट्टराईप्रति सच्चा श्रद्धाञ्जली हुने पनि उल्लेख गर्नु भयो ।

कार्यक्रममा काँग्रेस नेता प्रदिप गिरी र संस्कृतिविद् जगमान गुरुङले भट्टराईको गुण रहेको भन्दै एमाले अध्यक्ष ओलीको प्रशंशा गर्नु भएको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..