जग्गा खरिदका लागि सरकारले दिने पैसाका विषयमा भूकम्प प्रभावित बेखबर

काठमाडौ । सरकारले भूकम्प प्रभावित सुकुम्बासीलाई जग्गा खरिदका लागि दुई लाख रुपैयाँ दिने निर्णय गरेको झन्डै एक वर्ष पुग्न लाग्यो । गएको वैशाखमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिले पारित गरेर सार्वजनिक क्षेत्रमा बसेका सुकुम्बासीलाई जग्गा खरिद गर्न थप दुई लाख दिने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएसँगै यो प्रक्रिया अघि बढेको जनाइएको थियो ।

तर धेरै जिल्लाका भूकम्प प्रभावितले जग्गा खरिदका लागि थप दुई लाख पाउने खबर सुनेपनि यसका विषयमा आफूहरुलाई जानकारी नभएको बताएका छन् । गोरखा, धादिङ, नुवाकोट रसुवा लगाएतका जिल्लाका भूकम्प प्रभावितले आफूहरुलाई जग्गा खरिद बापत् पाइने दुईलाख रुपैयाँका विषयमा जानकारी गराउन र यसको प्रक्रिया बुझाउन कोही पनि नआएको गुनासो गरेका हुन् ।

भूकम्प प्रभावितको यो गुनासोका विषयमा हामीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सह प्रवक्ता भिष्मकुमार भूषालका अनुसार भूकम्प प्रभावित बसिरहेको ठाउँ जोखिमयुक्त भन्ने प्राधिकरणको सर्वेक्षणमा देखिएमा सुरक्षित स्थानमा जग्गा खरिदका लागि दुई लाखसम्म पाउनेछन् ।

अन्य ठाउँमा सुरक्षित घडेरी नभएका र भूकम्प प्रभावितको लाभग्राही सूचीमा रहेकाहरुले मात्रै यो पैसा पाउनेछन् । आफ्नो जिल्लामा रहेको प्राधिकरणको जिल्ला सचिवालयमा वा नजिकैको गाउँपालिका र नगरपालिकामा गएर पनि यसको प्रक्रियाका विषयमा बुझ्न सक्नेछन् ।

भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि संशोधन गर्दै प्राधिकरणले आफ्नो जग्गा नभई सार्वजनिक, वन क्षेत्र र सरकारी जग्गामा बसेका तथा जोखिमयुक्त स्थानबाट सुरक्षित ठाउँमा सर्न चाहने भूकम्पपीडितलाई घडेरी खरिद गर्न अनुदानका लागि थप रकम दिने प्रस्ताव अघि बढाएको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..