सुनुवाई समितिद्धारा उपसमिति गठन, तीन दिनभित्र प्रतिवेदन दिने

काठमाडौ । संसदीय सुनुवाइ समितिले तीन दिनभित्र समितिको कार्यविधि बनाउने गरी तीन सदस्यीय उपसमिति गठन गरेको छ । संघीय संसद् सचिवालयमा आज बसेको समितिको पहिलो बैठकले सांसदहरु योगेश भट्टराई, पुष्पा भुसाल र शिवकुमार मण्डल सदस्य रहेको उपसमिति गठन गरेको छ ।

उपसमितिले समितिको बैठक सञ्चालनको कार्यविधिलगायतका विषयमा प्रतिवेदन तयार पारी आगामी शुक्रबार बिहान ११ जे बस्ने बैठकमा पेश गर्नेछ ।

संविधानको धारा २ सय ९२ अनुसार गठन भएको संसदीय सुनवाई विशेष समितिले संवैधानिक अंगका पदाधिकारी, सर्वोच्च अदालतका प्रधानन्यायाधीश र विभिन्न मुलुकमा नियुक्त हुने राजदूतको संसदीय सुनुवाइ गर्नेछ ।

समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीशका लागि सिफारिस हुनुभएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको पहिलो सुनुवाइ गर्नेछ । गत जेठ २९ गते बसेको संवैधानिक परिषदको बैठकले जोशीलाई प्रधानन्यायाधीश बनाउन सिफारिस गरेको थियो ।

संवैधानिक निकायका प्रमुख तथा सदस्य, राजदूत, सर्वोच्च अदालतका प्रधानन्याधीश तथा न्यायाधिशलाई संसदप्रति जिम्मेवार बनाउन संसदीय सुनुवाइ समितिको भूमिका महत्वपूर्ण मानिन्छ । समितिमा प्रतिनिधि सभाबाट अमृता थापा, निरूदेवी पाल, पार्वत गुरूङ, पूर्णकुमारी सुवेदी, योगेशकुमार भट्टराई, शिवकुमार मण्डल केबट, सुरेन्द्रप्रसाद पाण्डे, ज्ञानेन्द्रबहादुर कार्की, भीमसेनदास प्रधान, पुष्पा भुसाल गौतम, लक्ष्मणलाल कर्ण र राजेन्द्रप्रसाद श्रेष्ठ सदस्य हुनुहुन्छ ।

यस्तै राष्ट्रिय सभाबाट सुमन प्याकुरेल, नन्दा चपाईं र जीतेन्द्रनारायण देव सदस्य हुनुहुन्छ । समितिमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका तर्फबाट नौ जना, नेपाली काँग्रेसका तर्फबाट चार जना र संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबाट एक÷एक जना सदस्य रहेका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..