डा.केसीलाई लिएर काँग्रेसले राजनीति गरेको प्रधानमन्त्रीको आरोप

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीको अनसनको त्यान्द्रो समातेर कांग्रेसले राजनीति गर्न खाजेको भन्दै चर्को आलोचना गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले डा. केसीलाई स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्नुपर्छ भन्ने बहसमा आउन र चिकित्सा शिक्षा आयोगको अध्यक्ष आफैं बन्न आग्रह पनि गर्नुभयो । पुष्पलाल स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्नुपर्छ तर्कपूर्ण बहस गरौं । तपाई नै जिम्मा लिनुस, आयोग चाहिन्छ भन्नुहुन्छ तपाई नै अध्यक्ष बन्नुस् ।

केही मानिसको अनसन र फुर्सदका बेला निकालेको जुलुस देशको सम्पूर्णता नभएको उहाँले बताउनुभयो ।सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकमा संशोधनका लागि प्रतिपक्षसँग कुरा गर्न सरकार तयार रहेको उहाँको भनाई थियो । प्रधानमन्त्री ओलीले मेडिकल एसोसिएसनका नाममा डाक्टरहरुले हुलहुज्जत गरेको आरोप पनि लगाउनुभयो ।

यस्तै, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख विपक्षी कांग्रेसले डा. गोविन्द केसीको अनसनको बलमा सरकारविरुद्ध आन्दोलन गरेको भन्दै आलोचना गर्नुभएको छ । अनसनरत डा. गोविन्द केसीको काम नै अनसन बस्ने भएको र त्यसलाई नेपाली समाजले पचाइसकेको भन्दै प्रचण्डले कांग्रेसले आन्दोलन गरेकोमा आक्रोश व्यक्त गर्नुभयो ।

पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नै प्रचण्डले डा. केसीसँग वार्ता गर्न र आवश्यक परे लचिलो हुन सरकार तयार रहेको बताउनुभयो । हिजो मात्र प्रधानमन्त्री केपी शर्मा ओली र आफूले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर सहमति गर्न आग्रह गरेको भन्दै प्रचण्डले सभापति देउवाले नमानेको बताउनुभयो । यस्तै हो भने कांग्रेस अब सिद्धिने उहाँको तर्क थियो । सुरुमा पार्टी एकता टुटाउन र अहिले नेकपा र सरकारलाई बदनाम गर्ने नियोजित कसरत भइरहेको प्रचण्डको भनाई छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..