यस्ता छन् दुःखले आर्जन गरेको पद, ‘आफ्नै कर्म’ का कारण गुमाउने भीआइपीहरु

कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मन्त्री पदबाट मंगलबार राजीनामा दिएका छन् । गत ४ साउनमा काठमाडौँको एक विद्यालयमा गरेको भाषणले उनलाई विवादित बनाएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

‘बंगलादेशमा एमबीबीएस अध्ययन गर्ने नेपाली छात्राहरूले प्रमाणपत्र लिनका लागि शरीर सुम्पनु परेको’ भन्ने अभिव्यक्ति उनलाई निकै महंगो सावित भयो । मन्त्रीले तथ्य र प्रमाण बिना सुनेकोको भरमा भाषण गरेकै कारण उनको यो अवस्था सृजना भएको हो ।

सो अभिव्यक्तिले महिलाको आत्मसम्मानमा चोट पुर्‍याएको भन्दै उनको चौतर्फी आलोचना भएको थियो । मन्त्री भएको चार महिना आठ दिनमा तामाङ मन्त्री पदबाट राजीनामा दिएर सिंहरदबारबाट बिदा हुनु अघि निकै भावुक देखिए ।

उनले राजीनामा दिएसँगै यसअघि विवादमा तानिएका त्यस्ता को–को मन्त्रीहरु थिए जसले विवादास्पद अभिव्यक्ति र व्यवहारका कारण राजीनामा गर्नु पर्‍यो । यस अघि विवादका कारण मन्त्रीपद छोड्नु परेकाहरुमा मुख्यरुपमा उर्जामन्त्री राधा ज्ञवाली, अर्थराज्यमन्त्री ल्यारक्याल लामा, बनमन्त्री मात्रिका यादव, कृषिमन्त्री हरि पराजुली तथा रक्षामन्त्री रहेका शरदसिंह भण्डारीलगायत छन् ।

आखिर के थियो त विवादित हुने कारण

पुष्पकमल दाहाल ‘प्रचण्ड’

पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा ९माओवादी० पहिलो पार्टी बन्दा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री थिए । दुई ठाउँबाट चुनाव जितेका उनले ‘निरन्तरतामा क्रमभंगता’ भन्दै नेपाली सेनाको चेन अफ कमान्डमा हस्तक्षेप गरे ।

तेस्रो वरीयताका कुलबहादुर खड्कालाई प्रचण्ड सरकारले प्रधान सेनापति बनायो । तर, सेरेमोनियल राष्ट्रपति डा। रामवरण यादवले सरकारको उक्त निर्णय उल्टाइदिए । आफ्नो निर्णय लागू नहुने अवस्था सिर्जना भएपछि प्रचण्डले सार्वजनिक रुपमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पदबाट राजीनामा गरे । उनले राजीनामा गर्दैगर्दा ‘विदेशी प्रभुहरुको अगाडि झुक्ने दिन गए’ भन्ने वाक्यांश प्रयोग गरेका थिए ।

राधा ज्ञवाली

तत्कालिन एमाले नेतृ राधा ज्ञवाली उर्जामन्त्री थिइन् । मन्त्री पदमा रहँदा सोलु करिडोर प्रसारण लाइन निर्माणमा अनियमितता गरेको भन्दै तत्कालिन प्रधानमन्त्री शुशील कोइरालाले अख्तियारको आग्रहमा उनलाई पदबाट बर्खास्त गरेका थिए ।

एक सय ३२ केभी क्षमताको उक्त प्रसारण लाइन निर्माणमा ठेक्क प्रक्रिया पुरा नगरी अनियमितता गरेको आरोपमा ज्ञवालीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ असोज ०७२ मा कारबाही गर्न सिफारिस गरेको थियो । ज्ञवाली हाल प्रतिनिधिसभाकी सांसद छिन् ।

ल्यारक्याल लामा

अत्यन्त विवादास्पद छविका ल्यारक्याल लामाको पद खोसिनुको पछाडि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको थियो । दरबारमार्गस्थित इन्भेष्टमेन्ट वैंकको राखेको लकरमा अनुसन्धानका क्रममा अख्तियारले १४ थान गोली फेला पार्नुका साथै उनको दोहोरो नागरिकता भएको समेत खुल्न आएको थियो । झलनाथ खलानको प्रधानमन्त्रीत्वकालमा अर्थराज्य मन्त्री रहेका लामाको चीनको समेत नागरिकता रहेको सार्वजनिक भएको थियो । उनी माओवादी केन्द्रको तर्फ मन्त्री भएका थिए ।

हरि पराजुली

कृषिमन्त्री हरि पराजुली १५ असार ०७२ मा काठमाडौंको मुलपानीमा धान दिवसका अवसरमा रोपाई गर्न जाने क्रममा रोपार महिलासँग अश्लिल व्यवहार गर्दै गरेको भिडियो र तस्बिर सार्वजनिक भएपछि मन्त्री पद त्याग्न बाध्य भएका थिए ।

पराजुलीले आफ्नो सार्वजनिक छवि जोगाउन नसकेको भन्दै निकै आलोचनाको सिकार हुँदै आएका थिए । एउटा सार्वजनिक कार्यक्रममा खैनी माडेर सेवन गर्दै थुकेको कुराले पनि उनलाई निकै विवादास्पद बनाएको थियो ।

तत्कालिन नेकपा (एमाले)बाट मन्त्री भएका उनी प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा सहभागी थिए । आफूले अश्लिल व्यवहार नगरेको भन्दै प्रष्टीकरण दिँदा दिँदै पनि प्रधानमन्त्री रहेका कोइरालाले उनलाई बर्खास्त गरेका थिए ।

दिलनाथ गिरी

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा राप्रपाबाट सहरी विकासमन्त्री मन्त्री बनेका थिए दिलनाथ गिरी । सोही सरकारमा उपप्रधानमन्त्रीको जिम्मेवारीमा रहेका आफ्ना पार्टी अध्यक्ष कमल थापासँग मनमुटाव बढेर गयो । मन्त्रिपरिषद बैठकमै थापाले गिरीलाई एक्कासी मन्त्री पदबाट राजीनामाको माग गरे । राजीनामा नदिएपछि उनलाई ‘मन्त्रीबाट फिर्ता बोलाउने’ आशयको पत्र प्रधानमन्त्री देउवालाई थापाले बुझाए । सोही पत्रका आधारमा १४ पुस ०७४ का दिन गिरी मन्त्री पदबाट मुक्त भए ।

शरतसिंह भण्डारी

तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराई क्याविनेटमा रक्षामन्त्री थिए शरतसिंह भण्डारी । उनले मन्त्रीपदमा रहँदा तराईरमधेसका २२ जिल्लाका जनताले निर्णय गरे विभाजित हुन सक्ने अभिव्यक्ति दिएकै कारण आफ्नो पद गुमाउनु पर्‍यो ।

‘तराई नेपालबाट छुट्टिन कसले रोक्छ ?’ भनि प्रश्नात्मक शैलीमा दिएको अभिव्यक्ति उनलार्इ निकै महंगो सावित भयो । तत्कालीन फोरम लोकतान्त्रिकका नेता भण्डारीले १ असोज ०६८ मा त्यस्तो अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्ति निकै समयसम्म विवादित बनेपछि उनले अन्ततः २ कात्तिक ०६८ मा राजिनामा दिएर सिंहदरबारबाट बाहिरिएका थिए ।

मातृका यादव

तत्कालिन नेकपा (माओवादी)का तर्फबाट बनमन्त्री बनेका मातृका यादव तत्कालिन समयका निकै चर्चित र विवादास्पद मन्त्रीहरुमध्येका एक थिए । कहिले स्थानीय विकास अधिकारीलाई शौचालयमा थुन्ने त कहिले आफ्नै प्रधानमन्त्रीसँग ठाडो बोलेका कारण उनी विवादमा तानिएका थिए ।

गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिमण्डलमा यादवले वातावरण विनाश गरी अवैधरुपमा ढुंगाखानी सञ्चालन हुँदा समेत कारबाही नगरेको भन्दै ललितपुरका तत्कालीन स्थानीय विकास अधिकारीलाई मन्त्रालयको शौचालयमा थुनेका थिए ।

स्थानिय विकास अधिकारीलाई शौचालयमा थुनेको विषयलाई लिएर प्रधानमन्त्री र मन्त्री बीच विवाद चर्कदै गएपछि प्रचण्डले उनलाई राजीनामा गर्न लगाएका थिए । हाल उनी केपी ओली नेतृत्वको सरकारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारीमा छन् ।

सरिता गिरि

डा.बाबुराम भट्टराई नेतृत्वको सरकारकै पालामा उट्पट्याङ हर्कतकै कारण श्रम तथा यातायातमन्त्री गिरि बीचमै बर्खात हुनुपरेको थियो । विदेश जाने नेपालीलाई अनुमति दिने निकाय वैदेशिक रोजगार विभागमा भ्रष्टाचार बढेपछि त्यसलाई रोक्न प्रधानमन्त्री भट्टराईले श्रम मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईलाई विभागको महानिर्देशक नियुक्त गरेका थिए ।

भट्टराईले ठगी गर्ने म्यानपावरलाई खारेजी र बैंकमार्फत् मात्र आर्थिक कारोबार गर्ने व्यवस्था लागू गरेपछि उनको कुर्सी हल्लाउन मन्त्री गिरि नै कस्सिएकी थिइन् । बैंकमार्फत् कारोबार गर्दा अनियमितताको सम्भावना कम भएपछि व्यवसायी महानिर्देशकसँग क्रुद्ध भइ मन्त्रीको शरण परेका थिए । तिनै व्यवसायीको लबिङमा महानिर्देशक भट्टराईलाई मन्त्री गिरीले मन्त्रालय फिर्ता बोलाएकी थिइन् । व्यवसायीले भट्टराईलाई विभागबाट सरुवा गरेबापत मन्त्री गिरीलाई २ करोड रुपैयाँ घुस दिएको प्रकरणमा गिरिको पद फुुस्किएको थियो ।

प्रभु साह 

२०६८ सालमा तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा। बाबुराम भट्टराईको मन्त्रिपरिषद विवादित देखिन्छ । तुलनात्मक रुपमा उनकै पालामा धेरै मन्त्रीले विवादित बन्दै राजीनामा दिएका थिए । त्यसमध्ये भूमिसुधारमन्त्री प्रभु साह पनि त्यसकै सिकार बनेका थिए ।

हिन्दू युवा संघका अध्यक्ष काशी तिवारीको गोली हानी हत्या गरेको आरोपमा थुनामा रहेका व्यक्तिले मन्त्री साहकै निर्देशनमा गोली हानेर हत्या गरेको बयान दिए । बहालवाला मन्त्री नै हत्या अभियोगमा मुछिएपछि उनले राजीनामा दिनुपरेको थियो ।

शैलजा आचार्य 

शैलजा आचार्यले पनि अभिव्यक्तिकै कारणले कृषिमन्त्रीबाट राजीनामा दिनुपरेको थियो । ‘मेरै मन्त्रालयमा भ्रष्टाचार छ’ भनेपछि उनीमाथि राजीनामा दिन दबाब परेको थियो । भ्रष्टाचार रोक्न नसकेको र प्रोत्साहन गरेको भन्दै विपक्षीले चर्को विरोध गरेपछि उनले पार्टीको दबाबमा राजीनामा दिएकी थिइन् ।

भीम आचार्य 

तत्कालीन नेकपा एमालेका सचिव भीम आचार्यलाई पनि मन्त्री रहँदै हटाइएको थियो । सुशील कोइराला नेतृत्वको सरकारमा पर्यटनमन्त्री रहेका आचार्यलाई फिर्ता बोलाएर दीपकचन्द्र अमात्यलाई पर्यटनमन्त्री बनाइएको थियो । अनियमितताको करण देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले उनलाई हटाएर अर्को मन्त्री पठाएका थिए ।

कर्ण थापा 

सुशील कोइरालाको पालामा उद्योगमन्त्रीको जिम्मेवारी सम्हालेका कर्ण थापालाई फिर्ता बोलाएर महेश बस्नेतलाई उद्योगमन्त्रीको जिम्मेवारी दिइएको थियो । पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित भएलगत्तै अध्यक्ष ओलीले मन्त्री परिवर्तन गरेका थिए । बाहिर चर्चा नगरे पनि थापालाई व्यापारीसँग आर्थिक लेनदेन गरेको आरोप लागेको थियो । आफूसँग पैसा मागेको भन्दै व्यापारीले ओलीलाई उजुरी गरेका थिए ।

पुरुषोत्तम पौडेल 

एमालेका तर्फबाट युवा तथा खेलकुदमन्त्री बनेका पुरुषोत्तम पौडेल पनि अख्तियारको दबाबमा सिंहदरबार छाड्न बाध्य भएका थिए । उनीमाथि खेलमा अनियमिताको आरोप लागेको थियो ।

विवादास्पद पूर्व भीभीआइपी

विगतमा नेपालमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्नहरु समेत सभासद बनेका थिए । पहिलो संविधानसभामा रौतहट-१ बाट स्वतन्त्ररुपमा जितेका बबन सिंहले व्यापारी राजेश क्यालको हत्यामा संलग्न भएको भन्दै प्रहरीले उनलाई मोस्ट वान्टेडको सुचीमा राखेको थियो ।

उनी कतिसम्मका राजनीतिज्ञ थिए भने आफ्नो फाँसी चढ्दै गरेको पोस्टर बनाएर उनी निर्वाचन प्रचार–प्रसारमा गए र निर्वाचित समेत भए । उनको विजयी हुने प्रक्रियामाथि कसैले प्रश्न उठाउन नसके पनि संविधानसभाको बैठकमा सहभागि हुन आउँदा उनलाई पक्राउ गर्नु पर्ने सामाजिक दबाब बनेपछि उनी विवादमा तानिएका थिए । त्यसपछि उनलाई पक्राउ गरि जेल चलान गरिएको थियो ।

जनकपुरमा बम विष्फोट गराएको तथा व्यापारी अरुण सिंघानियाको हत्या अभियोगमा मुछिएका सभासद संजय शाह उर्फ संजय टकला समेत विवादास्पद छविका सभासद हुन् । प्रहरीले उनलाई पक्राउ गरि जेल चलान गरेको थियो ।

त्यसैगरी विवादमा तानिने भीभीआईपीहरुमा सद्भावना पार्टीका नेता तथा तत्कालिन पूर्वआपूर्तिमन्त्री श्यामसुन्दर गुप्ता भैरहवाका व्यापारी पवन संघाइको अपहरणमा संलग्न रहेको पुष्टी भएपछि जेल चलान भएका थिए । प्रहरीले उनलाई मन्त्री छँदा छँदै छोराको बिबाहबाटै पक्राउ गरी जेल चलान गरेको थियो । त्यस्तै अर्को नाम हो जयप्रकाश गुप्ता (जेपी गुप्ता) ।

कांग्रेसबाट राजनीति सुरु गरेका पुराना नेता हुन् । मधेस आन्दोलनबाट उनले आफूलाई मधेसमा चर्चित र स्थापित नेताको रुपमा परिचित गराउन सफल भैसकेका थिए । तर भ्रष्टाचारको मुद्दामा अदालतबाट सफाई पाउन नसकेपछि उनी जेल चलान भएका थिए ।

गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अख्तियारीको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको भन्दै मुद्दा दायर गरेको थियो । जसमा गुप्ताले अदालतबाट सफाई पाउन सकेनन् ।
अदालतबाट दोषी करार भएर जेल गएका गुप्ताले पछि ‘मेरो नजरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ भन्ने पुस्तक समेत लेखे । गुप्ता बाबुराम भट्टराईको पालामा सूचना तथा सञ्चारमन्त्री थिए ।

त्यसैगरी भ्रष्टाचार मुद्दामा जेल चलान हुने अर्का नेता हुन् कांग्रेस नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्का । यसबाहेक विवादमा आउने अन्य भीभीआईपीहरुमा तत्कालीन उद्योगमन्त्री सुनिलबहादुर थापा, दीपकचन्द अमात्य, भीम आचार्य, सीपी मैनाली, शैलजा आचार्य लगायत छन् ।

त्यस्तै, ज्यान मुद्दामा जेल चलान भएका पूर्वसभासद् बालकृष्ण ढुंगेल, रातो पासपोर्ट दुरुपयोग गर्ने पूर्वसभासदहरु नारदमुनी राना(थारु), शिवपुजन यादव, विश्वनाथप्रसाद यादव, गायत्री शाहलगायत पनि रहेका छन् ।आजको नया पत्रिकामा खवर छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..