अझै हुन सकेन रानीपोखरी पुनः निर्माण

काठमाडौँ।  क्षति भएको झण्डै तीन वर्ष वितिसक्दा पनि रानीपोखरीको पुनःनिर्माणले गति लिन सकेको छैन् ।

गोर्खा भूकम्पका कारण रानीपोखरीमा क्षति पुगेको थियो । भत्किएको नौ महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्माणको शिलान्यास गर्नुभएको थियो । काठमाडौँ महानगरपालिकाले म्युजिकल फाउण्टेनसहितको रमणीय पार्क बनाउने गरी उक्त पोखरीको माछा बालाजु बाइसधारा सारेको पनि दुई वर्ष बितिसक्यो ।

कामपाले व्यापारिक दृष्टिकोणले सोही अनुरुप पोखरी क्षेत्रको निर्माण कार्य शुरु गरे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरेको भन्दै चौतर्फी विरोध आएपछि शुरु गरिएको निर्माण कार्य रोकिएको छ ।

सो सम्बन्धी विवाद समाधान गर्न गत पुस १३ गते गठन गरेको विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने सुझाव दिएको थियो ।

कामपाले साउनको पहिलो साताबाट निर्माण शुरु गर्ने भने पनि अहिलेसम्म कुनै चहलपल देखिदैन । केही दिन अघि मात्र कामपाका सहप्रवक्ता नवराज ढकालले छिट्टै काम शुरु हुने जानकारी राससलाई दिनुभएको थियो ।

उपत्यकाको सांस्कृतिक धरोहरका रुपमा रहेको क्षतिग्रस्त रानीपोखरीको पुनःनिमार्ण डेढ वर्षमा सक्ने सरकारी लक्ष्य थियो । तर, भूकम्प गएको लामो समय वितिसक्दा पनि ऐतिहासिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण रानीपोखरीको निमार्णले गति लिनसकेको छैन ।

साउनबाट निर्माणको काम गर्ने भन्दै असारको अन्तिमसाता यसअघि पुनःनिर्माणको क्रममा प्रयोग भएको आधुनिक निर्माण सामग्री हटाइसकिएको । रानीपोखरी पुनःनिर्माणको लागत रु छ करोड २९ लाख छ ।
प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाए । पोखरीको निर्माणकार्य करीब पाँच वर्षभित्र अर्थात् ने सं. ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो र नेसं ७९० (वि.सं. १७२७÷ई.सं. १६७०) मा शिलापत्र राखिएको थियो । जसलाई नेपाल संवत् ८११ ई.सं. १६११) क मा न्हुरपुखुर (न्हुपुखु) भनिएको छ । जसको अर्थ नयाँ पोखरी भन्ने हुन्छ ।

बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकूट शैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टी गर्दछ । उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको स्केचबाट पनि प्रष्ट हुन्छ ।

पोखरीमा १०८ तीर्थको जल हालिएको थियो । तिहारको भाइटीकामा मात्र खुल्ने रानीपोखरी बीचको बाल गोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भाइटीका पर्व मनाइन्छ । मन्दिर भत्किएपछि विसं २०७२ ,७३ र ७४ सालको तिहारमा मूलढोकाबाटै पूजा एवं दर्शनको व्यवस्था गरिँदै आएको छ ।

प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । जसमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरबको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।

मूल रानीपोखरीको क्षेत्रफल — लम्बाइ तर्फ १८० मिटर र चौंडाइ तर्फ १४० मिटर फैलिएको छ । (पुरातत्व इतिहास र संस्कृति डा साफाल्य अमात्य, २०८६ असोज, पा.नं. १८) ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..