‘सामाजिक–आर्थिक विकासमा सरकारको ध्यान केन्द्रित’

काठमाडौँ।  तीन वटा युरोपेली मुलुकको भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली जनताको सामाजिक–आर्थिक विकासको धेरै पुरानो चाहना पूरा गर्न वर्तमान सरकारले आफ्नो ध्यान केन्द्रित गरेको बताउनुभएको छ ।

ब्रसेल्सस्थित नेपाली दूतावास र एशियाली अध्ययनका निम्ति युरोपेली प्रतिष्ठानले संयुक्तरुपमा आयोजना गरेको ‘नेपालका प्रमुख राष्ट्रिय एजेण्डा ः राजनीतिक उपलब्धिलाई सामाजिक–आर्थिक रुपान्तरणका माध्यमबाट दिगोपना प्रदान’ विषयक प्रवचनमा उहाँले अहिलेको सरकारका प्राथमिकता र नीति नेपालको सामाजिक–अर्थिक रुपान्तरणमा केन्द्रित भएका बताउनुभयो ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालको पछिल्लो राजनीतिक विकासक्रमबारे जानकारी दिँदै मन्त्री ज्ञवालीले स्वदेशमा नै रोजगारीका अवसरको सिर्जना गर्ने तथा गरिबी घटाएर ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणमा अभियानमा सरकार जुटेको बताउनुभयो ।

ब्रसेल्सस्थित एशियाली तथा युरोपेली देशका राजदूत, विद्वत् वर्ग, सञ्चारकर्मी, नेपालका मित्र र बेल्जियममा बसोबास गर्दै आएका नेपाली नागरिकहरुको सघन उपस्थितिमा भएको उक्त कार्यक्रममा परराष्ट्र मन्त्रीले देशभर आर्थिक रुझान प्रवद्र्धन गर्नु सरकारको लक्ष्य हो भन्नुभयो ।

नेपाल प्रगति र समृद्धिको पथमा अग्रसर हुँदै नयाँ युगमा प्रवेश गरेको तथा त्यहाँ भएका सकारात्मक प्रगतिलाई आत्मसात् गर्न नेपालका मित्र र साझदारलाई आह्वान गर्दै उहाँले लगानीको वातावरण पनि तयार भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लगानीको वातावरण बनेको छ त्यसलाई थप समर्थवान बनाउन हामी मुखले होइन कामले गरेर देखाउँछौँ ।”

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..