यस्ता कारणले प्रधानन्यायाधीशमा जोशी अस्वीकृत भए, अब के हुन्छ ?

संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकृत गरेको छ । प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गर्दा दुई तिहाई बहुमतका आधारमा जोशी अस्वीकृत भएका हुन् । कांग्रेसले मतदान प्रक्रियामा भाग नलिएपछि जोशीको पक्षमा एक भोट पनि खसेन भने विपक्षमा १० मत खस्यो ।

सत्तारुढ दल नेकपाका ९ र फोरमका एक सांसदले जोशीको विपक्षमा मत हालेका हुन् । १५ सदस्यीय सुनुवाइ समितिमा राजपाबाट सदस्य रहेका लक्ष्मणलाल कर्ण जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका कारण मतदान गरेनन् । कर्णले जोशीलाई अस्वीकृत गर्ने र स्वीकृत गर्नुपर्छ भन्ने दुबै पक्षले लिखित रुपमै मत राखेको बताए ।

कांग्रेसका चार सांसदले जोशीलाई अनुमोदन गर्नुपर्ने कारण लिखित रुपमै राखेका छन् । ‘संवैधानिक परिषदले सिफारिस गरेका जोशीलाई अस्वीकृत गर्नुपर्ने कारण र आधारका आभावमा नियुक्ति अस्वीकार गर्ने रायसँग हाम्रो गम्भीर असहमति रहेकाले बैठक बहिस्कार गरेका छौं’ उनीहरुले भनेका छन् ।

कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले दुई तिहाईको बलमा अदालतमाथि हस्तक्षेप भएको बताएका छन् । उनले भने, ‘संविधान र स्वतन्त्र न्यायपालिकामाथि जुन किसिमको हस्तक्षेप भएको छ, यसले व्यक्तिको न्यायिक स्वतन्त्रमात्र होइन, हाम्रा सबै अधिकार कटौती हुनेछ ।’

उनले समितिको निर्णय सुनवाई समितिको इतिहासमा खराब नजिर बनेको समेत बताएका छन् । नेपालमा अन्तरिम संविधान २०६३ पछि प्रधानन्यायाधीश, न्यायाधीश, राजदूत र संवैधानिक निकायका पदाधिकारीहरुको संसदीय सुनुवाइको व्यवस्था गरिएको हो । यस अवधिमा संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुनेमा जोशी पहिलो हुन् ।

तर्कहरु

१. प्रधानन्यायाधीश नियुक्त भए के कसरी जिम्मेवारी निर्वाह गर्ने भन्ने ठोस कार्ययोजना र अवधारणाा पेश गर्न नसकेको ।

२. सुनुवाईका क्रममा आचरण, इमान्दारिता र कार्यक्षमताबारे सोधिएको प्रश्नको प्रष्ट र सन्तोषजक जवाफ दिन नसकेको ।

३. शैक्षिण प्रमाणपत्र सन्देहात्मक रहेको र जन्ममिति समेत फरक फरक रहेको । यसबारे जोशीले यथेस्ट प्रमाण पेश गर्न नसकेको ।

४. जोशीको सार्वजनिक आचरण र विगतका कामकारबाहीबारे पूर्व न्यायाधीशहरुबाटै प्रश्न उठको र सर्वोच्चको न्यायाधीश रहँदा नेपालको न्याय प्रणाालीमा योगदान दिन सक्ने दृष्टान्त पेश गर्न नसकेको ।

५. जोशीबाट न्यायालय स्वतन्त्र, सक्षम र विकृतिविहीन हुनसक्छ भन्ने निश्चित हुन नसकेको । onlinekhabar.com

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..