अब गर्भमा रहेको बच्चाले पनि अंश पाउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं । दुई दाजुभाई छुट्टिएपछि अंशबण्डामा तीनका बच्चाको हिसावकिताव गरिंदैन । तर अब भने पेटभित्र भएको बच्चालाई पनि अशंमा भाग लगाउनुपर्ने भएको छ ।

हालसम्म सगोलको सम्पति बच्चा जन्मिएपछि मात्र भाग लगाउने गरिन्थ्यो । यही भदौ १ देखि लागू हुन लागेको मुलुकी देवानी (संहिता), २०७५ र त्यससम्बन्धी कार्यविधिमा अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा ती महिलाले जन्माउने शिशुलाई पनि अंश छुट्टयाउनु पर्ने हुन्छ ।

यदि बच्चा मृत जन्मिए मात्रै उसका लागि छुट्याइएको अंश बाँकी अरुले समान भागबण्डा गर्न पाउनेछन् । सगोलको सम्पत्तिमा पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार हुने व्यवस्था हालको व्यवस्थामा थियो । गर्भमा भएको बच्चा छोरा वा छोरी जे भएपनि अंश लगाउनै पर्नेछ ।

आमाको गर्भमा हुँदादेखि नै अंश पाउने कानूनी व्यवस्था भएपछि छोरा र छोरीमा हुने विभेदको अन्त्य हुने विश्वास गरिएको छ । यो नयाँ व्यवस्थाले छोरालाई बढी प्राथमिकता दिने परिवारले पनि बाध्य भएर छोरीलाई पनि समान हक दिने अवस्था सृजना हुनेछ ।

कानून बमोजिम विवाह हुन नसक्ने, विवाह भएको नमानिने वा वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पतिबाट जन्मिएका छोरा छोरीले त्यस्ता बाबु आमाबाट अंश पाउने व्यवस्था गरिएको छ । बाबुको पहिचान नभएका छोरा छोरीले आमाको सम्पत्तिबाट मात्र अंश पाउनेछन् ।

प्रकाश नगरी बाहिर राखेका पत्नीले वा निजबाट जन्मेका छोरा छोरीले पति वा बाबु मरेपछि अंशमा दाबी गर्न पाउने छैन । त्यस्ता पत्नीलाई अवैध मानिएको छ । कुनै व्यक्तिको एकभन्दा बढी पत्नीहरू भएमा निजहरूले पतिको भागबाट मात्र अंश पाउनेछन् ।

पति वा पत्नीले पत्नी वा पतिलाई घरबाट निकाला गरिदिएमा र पति वा पत्नीले पत्नी वा पतिलाई शारीरिक वा मानसिक यातना दिएमा अंश लिएर छुट्टै बस्न सक्ने व्यवस्था पनि गरिएको छ । आफ्नो अंश भागमा पर्ने हदसम्मको सम्पत्ति अन्य अंशियारको मञ्जुरी नभएपनि कुनै अंशियारलाई दिन सक्नेछ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..