श्रीदेवीबारे ५ तथ्य जुन तँपाइलाई थाहा नहुन सक्छ

श्रीदेवीको जीवन र फिल्मसँग जोडिएका कैयौं किस्सा बलिउडमा रहेका छन् । तीमध्ये ५ किस्सा यस्ता छन्:

१) ४ वर्षको उमेरमा फिल्ममा डेब्यू

श्रीदेवीले १९६७ मा आएको तमिल भाषाको फिल्म ‘कण्डन करुनाइ’ बाट डेब्यू गरेकी थिइन् । जतिबेला उनको उमेर केवल ४ वर्षको थियो । उक्त फिल्ममा उनले त्यो समयकी चर्चित अभिनेत्री जयललितासँग काम गरेकी थिइन् । हिन्दी फिल्ममा भने उनले ‘रानी मेरा नाम’ (१९७२) बाट बाल कलाकारको रुपमा डेब्यू गरेकी थिइन् ।

२) ज्वरोले ग्रस्त भएको बेला झरीमा सुटिङ

कामप्रतिको समर्पणमा श्रीदेवी अन्य अभिनेत्रीहरुको तुलनामा सधैं अगाडि थिइन् । आफू जतिसुकै दुःख र पीडामा रहे पनि सेटमा क्यामराको अगाडि सबथोक बिर्सेर अभिनयमा लिप्त हुन्थिन् । सन् १९८९ मा बनेको फिल्म ‘चालबाज’ को सुटिङमा उनको यस्तै समर्पण देखिएको थियो । उक्त फिल्ममा श्रीदेवी अञ्जु र मञ्जु नामको डबल रोलमा देखिएकी थिइन् । फिल्मको गीत ‘न जाने कहाँ से आई हे’ त्यसो समय निकै चर्चित थियो ।

उक्त गीतको दृश्यमा श्रीदेवी हाँस्दै रमाउँदै झरीमा रुझेर नाचेको देख्न सकिन्छ । तर, त्यसको सुटिङ उनले निकै कष्टपूर्वक पूरा गरेकी  थिइन् । खासमा गीतको सुटिङ गर्ने बेला उनलाई १०३ डिग्री ज्वरोले ग्रस्त बनाएको थियो । यस्तो अवस्थामा पनि उनले झरीमा रुझ्दै सुटिङ गरिन् । उक्त फिल्मका लागि श्रीदेवीले उत्कृष्ट अभिनेत्रीको फिल्मफेयर अवार्ड पाएकी थिइन् ।

३) १० लाख पारिश्रमिक माग्दा ११ लाख पाइन्

श्रीदेवीलाई बोनी कपूरले सन् १९७० को दशकमा एक तमिल फिल्ममा देखेका थिए । पहिलो पल्ट देख्नासाथै श्रीदेवीप्रति मोहित भएका थिए बोनी । उनीहरुको निकटता ‘मिस्टर इन्डिया’ (१९८७) को निर्माणअघि बढ्न थालेको थियो । बोनीको लगानी रहेको उक्त फिल्मको स्क्रिप्ट सुन्न श्रीदेवीले १० दिन पर्खाएकी थिइन् । श्रीदेवीलाई उक्त फिल्ममा साइन गराउन उनकी आमाले १० लाख भारु पारिश्रमिक मागेकी थिइन् । तर, बोनीले ११ लाख दिने बताएका थिए ।

पहिलो पत्नी मोना सुरी कपूरसँगको पारपाचुकेपछि बोनीले १९९६ मा श्रीदेवीसँग विवाह गरेका थिए ।

४) हलिउड फिल्म ‘जुरासिक पार्क’ अस्वीकार

हलिउडका ख्यातिप्राप्त निर्देशक स्टेवेन स्पिलबर्गले फिल्म ‘जुरासिक पार्क’ को एउटा रोलका लागि श्रीदेवीलाई छनोट गरेका थिए । तर, उनले उक्त प्रस्ताव अस्वीकार गरेकी थिइन् । श्रीदेवीलाई भारतीय फिल्महरुमै लगाव थियो । त्यसपछि पनि उनलाई अरु हलिउड फिल्महरुको प्रस्ताव आए, तर तिनमा उनले चासो देखाइनन् ।

५) गहिरो धार्मिक आस्था

श्रीदेवीलाई महाकाल मन्दिर र मीनाक्षी मन्दिरमा गहिरो आस्था थियो । आउटडोर सुटिङ भएको बेला बाहेक उनी दैनिक बिहान र साँझ पूजा गर्थिन् । मध्यप्रदेश राज्य गएको बेला उनी हिन्दुहरुको धार्मिक आस्थाको केन्द्र उज्जैन पुगेकै हुन्थिन् ।

साथै, उनी शारीरिक तन्दुरुस्तीका लागि व्यायाम र योगा गर्थिन् । जुनसुकै शहरमा जाँदा पनि हेयरस्पा गराउने उनको बानी थियो । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..