पाँच वर्षभित्र मुलुकबाट गरिबी अन्त्य गर्ने अर्थमन्त्रीको घोषणा

काठमाडौ । पाँच वर्षभित्र मुलुकबाट गरिबी अन्त्य गर्ने घोषणा अर्थमन्त्री डा युवराज खतिवडाले गर्नु भएको छ ।

सङ्घीय संसद मातहतको दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा मन्त्री खतिवडाले पाँच वर्षमा गरिबी अन्त्य गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो । दिगो विकास लक्ष्य हासिल हुनेगरी गरिबी निवारणलगायतका क्षेत्रमा आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गरिएको उहाँको भनाइ थियो ।

संयुक्त राष्ट्र सङ्घले घोषणा गरेको भन्दा अघि नै नेपालले दिगो विकास लक्ष्य हासिल गर्ने दाबी गर्दै मन्त्री खतिवडाले खानेपानीलगायतका क्षेत्रमा आवश्यक योजना बनाइएको धारणा राख्नुभयो । सन् २०३० भित्र नेपालले दिगो विकास हासिल गर्ने लक्ष्य लिएको छ ।

अर्थमन्त्री खतिवडाले दिगो विकासका लागि आवश्यक पूर्वाधार विकासको कामलाई अघि बढाउन सरकारले अन्तर्राष्ट्रिय लगानी भित्रयाउन लागि परेको जानकारी गराउनुभयो । दिगो विकास लक्ष्य हासिलका लागि सरकारले स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर जाने नीति लिएको पनि समितिलाई उहाँले जानकारी दिनुभयो ।

बैठकमा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले दिगो विकास लक्ष्य हासिल हुनेगरी तथ्याङ्क सङ्कलनको काम सुरु गरिएको जानकारी दिनुभयो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..