खुसी के हो ? कसरी प्राप्त गर्न सकिन्छ ? सबैलाई खुसी पार्ने एउटा देशको प्रयास तर….

दक्षिण कोरियालाई सम्पन्न देशका रुपमा लिने गरिन्छ । छिमेकी देश उत्तर कोरियाको तुलनामा दक्षिण कोरियाबासीको आम्दानी राम्रो छ। नागरिकसँग कमाई रोजगारी छ। उनीहरु राम्रो लगाउँछन्, मिठै खान्छन् । तैपनि एउटा समस्या छ । खुसी मापनमा यो मुलुक पछाडि परेको छ।

जेजु आइल्याण्डको व्यस्त समुद्री तटमा यो समस्या अनुमान गर्न सकिन्न । यहाँ खुला एयर कन्सर्ट चलिरहन्छ । वातावरण संगीतमय रहन्छ । गर्मीको विदामा सांग–दाई चा आफ्नो परिवारका साथ यहाँ माछा मार्न आएका छन् । उनका बालबच्चा नजिकै खेलिरहेका छन्।

चा र उनका परिवारलाई थाहा छैन कि दक्षिण कोरियाली सरकार आफ्नो ‘वोराबेल’ कार्यक्रमका लागि उनलाई मोडलका रुपमा हेर्दछ । ‘वोराबेल’को अर्थ हो काम र जीवनमा सन्तुलन राख्नु ।

दक्षिण कोरियामा काम गर्ने समय संसारमै सबैभन्दा बढी छ । ओईसीडी रिपोर्टका अनुसार २० प्रतिशत नागरिक सातामा ५० घण्टाभन्दा बढी काम गर्दछन् । औषतः मानिसहरु आधा मात्रै विदा लिने गर्दछन् । कामबाट उत्पन्न हुने तनावका कारण कोरियामा ठुलो संख्यामा आत्महत्या हुने गर्दछ र जन्मदर पनि निकै कम छ । त्यसैले सरकारले अब सबैलाई खुसी राख्ने जिम्मेवारी उठाएको छ।

समय र पैसा

दक्षिण कोरिया जुन कार्यक्रम सुरु गरिरहेको छ, त्यो फिल–गुडजस्तो कार्यक्रम होइन, साँस्कृतिक परिवर्तनलाई कानुनी जामा लगाइँदैछ । संयुक्त राष्ट्रसंघ र ओईसीडी दुवै संगठन मिलेर संसारभरमा खुशियालीका बारेमा वर्षेनी प्रतिवेदन तयार गर्ने गर्दछ । कुनै पनि मुलुकको खुसी मापन गर्नका लागि सामाजिक र आर्थिक पक्ष, जस्तै प्रतिव्यक्ति सकल घरेलु उत्पादन, जीवन प्रत्याशा, शिक्षा र भ्रष्टाचारलाई हेर्ने गरिन्छ ।
सम्पन्न हुनुको अर्थ खुसी र सुखी हुनु होइन । दक्षिण कोरियाली नागरिकसँग बीएमडब्लु कारदेखि रिमोर्ट कन्ट्रोलवाला ट्वाइलेटसम्म छ। तैपनि सन्तुष्टिको स्तर ओईसीडी देशहरुको औषतभन्दा धेरै तल छ।

राष्ट्रपति मुन जे–इन यो अवस्थामा परिवर्तन ल्याउन चाहन्छन् । मुनले नयाँ वर्षमा पत्रकार सम्मेलनमा भनेका थिए–दक्षिण कोरियाको प्रतिव्यक्ति आय यो वर्ष ३० हजार अमेरिकी डलर हुनेछ । तर यो आम्दानी महत्वपूर्ण होइन । महत्वपूर्ण त त्यो हो कि मानिसहरु राम्रो जीवन बाँच्न सकुन् ।

सरकार नागरिकलाई कामबाट बाहिर ल्याएर उनीहरुको तनमनको स्वास्थ्य दुरुस्त बनाउन चाहन्छ । हप्तामा काम गर्ने अधिकतम समय सीमा ६८ घण्टाबाट घटाएर ५२ घण्टा गरिएको छ। जसले यो नियम पालना गर्दैन त्यसलाई दुई वर्षको जेल सजायको प्रावधान छ।

सरकारले न्युनतम पारिश्रमिक पनि बढाएको छ। आमा वा बाबु बन्दा प्राप्त हुने विदा बढाइएको छ। बालबालिकाको रेखदेका लागि अनुदान सुरु गरिएको छ। पेन्सन वृद्धि गरिएको छ।

पहिलाबाटै चलिरहेको हैप्पीनेस कोषलाई पनि कायम राखिएको छ। यो कोषले नागरिकहरुलाई व्यक्तिगत ऋणबाट मुक्ति दिलाउन सहयोग गर्दछ । सिउलको एउटा टायर कम्पनीका क्वालिटी म्यानेजर चालाई लाग्दछ कि सरकार त्यही गरिरहेको छ, जुन उनको देशका लागि आवश्यक छ। केही समस्याहरु, जस्तै जन्मदर कम हुनु, यति ठुलो भएको छ कि त्यसलाई नजरअन्दाज गर्न सकिन्न । जीवनस्तर सुधार गर्दाका कयौ फाइदा छन् । कम आय भएका मजदुरहरुसँग बढी पैसा हुनेछ भने कयौ उत्पादन र सेवाहरुको माग बढ्नेछ ।

फुर्सदमा काम आउने कुराहरुको माग पनि बढ्नेछ । आत्महत्या दर घट्नेछ र नागरिकहरु सन्तान उत्पादन गर्नतिर लाग्नेछन् । तर के यो सबै यति सजिलो छ ?

कसरी घट्छ र बढ्छ खुसी ?

कानुन बनाएर खुसी ल्याउनु सहज छैन । कुनै पनि देशको खुसी कयौ कुरामा निर्भर रहन्छ । राजनीतिक स्वतन्त्रता र पर्यावरणलगायतको पनि भूमिका हुन्छ । संयुक्त राष्ट्रसंघको विश्व खुसी प्रतिवेदनका सहलेखक तथा कोरिया डेभलमपेन्ट इन्स्टिच्युटका निर्देशक शुन वांगलाई लाग्दछ कि नीति बनाउनेहरु अर्थशास्त्रीका कुरा सुन्नेछन् ।

‘उनीहरु नागरिकसँग यसो भन्दैनन् कि कसरी खुसी रहन सकिन्छ । बरु उनीहरु सरकारसँग भन्छन् कि कुन प्रकारको नीतिहरु खुसीहरुको स्तर घटाउन वा बढाउन लाभदायी हुन्छ । उदाहरणका लागि सांख्यिकी भएको शोध भन्छ कि बेरोजगारी बढ्यो भने देशको खुसी घट्ने गर्दछ ।’
सन् २००८ को मन्दीका क्रममा दक्षिण कोरिया सरकारले रोजागारी बढाउने कुरामा जोड दिएको थियो । भलै त्यसमा पारिश्रमिक कम होस् कि काम अस्थायी होस । परिणाम यो रह्यो कि दक्षिण कोरियामा सन्तुष्टिको स्तर स्थिर रह्यो। जबकि ग्रीस र स्पेन जस्ता युरोपियन मुलुकमा यो धाराशायी भयो र अहिलेसम्म सुधारिन सकेको छैन ।

दक्षिण कोरिया नागरिकहरुको खुसी बढाउनका लागि नीति बनाउने एक्लो देश होइन । इंग्ल्याण्ड पनि २०२ देखि नै घरेलु खुसीहरुको रेकर्ड राखिरहेको छ र उक्त तथ्याङ्क मानसिक स्वास्थ्य, रोजगारी र शिक्षाको क्षेत्रमा प्रयोग गरिरहेको छ।

संयुक्त अरब इमिरेट्सले सन् २०२१ सम्म सबैभन्दा सुखी मुलुक बन्ने लक्ष्य राखेको छ र त्यसका लागि एक जना राज्यमन्त्री नै नियुक्त गरेको छ। भुटानले २००८ मै आर्थिक विकासको स्थानमा सकल घरेलु सुखीमा ध्यान दिने नीति बनाएको थियो। भुटानले राष्ट्रियस्तरमा खुसी मापनका लागि एउटा तरिका पनि अपनाएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुनले सन् २०१६ मा भूटान भ्रमण गरेका थिए । उनले त्यहीबाट प्रेरणा पाएको अनुमान गरिएको छ।

मुनको नीति सरल छ र देशको समस्याहरुमा केन्द्रित छ । नीति लागु भएपछि केही परिणाम पनि देखिन थालेको छ। तर सफलताको कुनै ग्यारेन्टी भने छैन ।

खुसीहरु सीमित छ

सन् २०१८ मा दक्षिण कोरियामा न्युनमत पारिश्रमिक १६.४ प्रतिशत बढ्यो । सन् २०१९ मा यसमा १०.९ प्रतिशत वृद्धि हुने लक्ष्य छ । न्युनतम पारिश्रमिक वृद्धि हुँदा रोजगारीको संकट उत्पन्न भएको छ । मात्र केही कम्पनीहरुले सेवा बन्द गर्ने धम्की दिएका छन् । जबकि केही अन्य कम्पनीहरु मजदुरहरुलाई कम घण्टा काम गराइरहेका छन् ताकि लागत घटाउन सकियोस् ।

साप्ताहिक कामको समय घटाउन पनि मुश्किल छ । दक्षिण कोरियाली नागरिक निर्धारित समयमा काम सक्नका लागि परिचित छन् । कामको समय कम गर्दा उनीहरुमाथि कम समयमा त्यति नै काम गर्नुपर्ने दबाव बढ्नेछ । अर्थात खुसी हुन सजिलो छैन ।

योन्शी युनिभर्सिटीका हैप्पीनेस एन्ड कल्चरल साइकोलजी ल्याबका निर्देशक यून्कुक एम. सुक भन्छन् कि अलगअलग सभ्यताहरुमा सुखीको अर्थ पनि अलग अलग छ। अमेरिका र बेलायतजस्ता व्यक्तिवादी सभ्यतामा हरेक व्यक्ति खुसीको आफ्नो मापन बनाउँछन् । तर कोरियाजस्ता समस्टिवादी सभ्यतामा खुसी समाजसँग जोडिएको हुन्छ । ‘यहाँ म जिन्दगीका बारेमा के सोच्दछु, यसले अर्थ राख्दैन । मेरो बारेमा अन्यले के सोचिरहेको छ, यसले महत्व राख्दछ।’

सुक भन्छन्–तपाईले यो देखाउने पर्नेछ कि तपाईको जीवन खुसी हुन लायक छ । यसका लागि केही प्रमाण आवश्यक हुन्छ जस्तै कुनै राम्रो युनिभर्सिटीको डिग्री, कुनै महंगो कार वा ठुलो घर ।

दक्षिण कोरियामा युनिभर्सिटी प्रवेश सहज छैन । सरकारी रोजगारी पनि सीमित छ । यस्तो अवस्थामा कमै मानिसलाई त्यो खुसी प्राप्त हुन्छ । जसलाई आदर्श मान्ने गरिन्छ ।

मुनको निजी पहल

राष्ट्रपति मुन नागरिकका सामु उदाहरण प्रस्तुत गर्नका लागि हरेक विदा लिने गर्दछन् । उनी यो देखाउँछन् कि यदि एटमी शक्ति भएको छिमेकी उत्तर कोरियाका साथ शान्ति प्रयास गर्दा पनि उनी विदा लिन सक्छन् भने सबैले यसो गर्न सक्दछन्।

तर, विशेषज्ञहरुलाई लाग्दछ कि बढी विदा बसेर समस्या समाधान आधा मात्रै हुनेछ । यो देखाउनुपर्नेछ कि खाली समय उ के गर्दछ । जेजू तटमा माछा मारिरहेका सांग–दाई चा १५ वर्षदेखि जागिर खाइरहेका छन् । उनलाई लाग्छ कि काम र जीवनबीच उनले सही सन्तुलन कायम गरेका छन् । चाको कम्पनीले ४० घण्टा काम लिने गर्दछ । ओभरटाइम कहिलेकाँहि मात्र गर्नु पर्दछ र चा हरेक विदा इन्जोय गर्दछन् । उनी भन्छन्–मेरो कम्पनी यसो भन्छ । मेरी श्रीमती पनि त्यस्तै भन्छिन् ।

चालाई लाग्दैन कि काम र विदाका बारेमा यदि कानुन बन्छ भने हुन सक्छ कि मानिसहरुलाई नराम्रो लागोस् । यदि यो परिवर्तन कम्पनीहरु स्वयमले ल्याए भने मानिसहरुलाई बढी सजिलो हुनेछ । तर के चालाई लाग्छ कि देश सही दिशामा गइरहेको छ ? जवाफमा उनी भन्छन्–हो, भविष्य अझ सुन्दर हुनेछ । बीबीसी क्यापिटलका लागि एरिन क्रेग, बीबीसी हिन्दीबाट अनुदित

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..