गुणस्तरीय खाद्यन्नको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन

काठमाडौ । प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले दशैं, तिहार, छठ पर्वमा अभाव नहुने गरी गुणस्तरीय खाद्यन्नको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज सिंहदरबारमा बसेको बैठकले दशैं, तिहार, छठ पर्वमा अभाव नहुने गरी गुणस्तरीय खाद्यन्नको उचित व्यवस्था गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले दैनिक उपभोग्य वस्तुको कालोबजारी हुन नदिने गरी आवश्यक अनुगमनको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ ।

दशैं, तिहार जस्ता महत्वपूर्ण चाडमा अभाव नहुने गरी गुणस्तरीय खाद्यान्नको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको समितिका सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिनुभयो । समितिले भत्किएको कालीगण्डकी तटबन्द अर्को वर्षा नआउँदै बनाउने उचित व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ।

एक वर्ष नबित्दै तटबन्द भत्किनुको कारण समितिमा एक हप्ताभित्र पेस गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पनि निर्देशन दिइएको छ। बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले मन्त्रालयको नीति, कार्यक्रम र बजेटबारे समितिलाई जानकारी गराउनुभएको थियो ।

उहाँले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्थानीय समिति बनाएर संचालन गर्न लागिएको पनि बताउनुभयो । उहाँले कृषकलाई मलको अभाव हुन नदिन आफू सचेत रहेपनि बजेटको अभाव रहेको समितिलाई जानकारी गराउनुभयो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..