अमेरिकी राष्ट्रपति ट्रम्पले भने–करको धम्कीका कारण अरू देश वार्तामा आउन बाध्य भए

अमेरिकासँग, उनकै शब्दमा, अन्यायपूर्ण ढंगले व्यापार गर्दै आएका देशहरूविरुद्ध कर लगाउने धम्कीका कारण ती देश व्यापार वार्ताको टेबुलमा आउन बाध्य भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। मेक्सिको र क्यानाडासँग नयाँ व्यापार सम्झौता भएको घोषणा गर्दै उनले उक्त टिप्पणी गरेका छन्।

राष्ट्रपतीय चुनावको अभियान ताकादेखि नै ट्रम्पले छिमेकी मेक्सिको र क्यानडासँगको साविकको नर्थ एटलान्टिक फ्रि ट्रेड एग्रिमेन्ट वा नाफ्टा अमेरिकाका निम्ति हानिकारक भएकाले त्यसलाई विस्थापित गर्ने भन्दै आएका थिए।

त्यसै क्रममा उनको प्रशासनले अमेरिका-मेक्सिको-क्यानडा वा युएसएमसीए भनिने नयाँ सम्झौताको घोषणा गरेको छ।

सोमबार सार्वजनिक गरिएका सो सम्झौताका सयौँ पृष्ठहरूमा क्यानडाको दुग्ध उत्पादन क्षेत्र तथा मेक्सिकोको कार निर्माण क्षेत्रबारे नयाँ प्रावधानहरू उल्लेख छन्।

अमेरिकी किसानहरूले वार्षिक करिब १६ अर्ब डलरको बजार रहेको ठानिएका क्यानाडेली दुग्ध बजारको साढे तीन प्रतिशत हिस्सामा पहुँच पाउनेछन्।

त्यस्तै उक्त नयाँ सम्झौता अनुसार युएसएमसीए क्षेत्रमा उत्पादन हुने गाडीहरूको कम्तीमा ४० प्रतिशत पार्टपुर्जाको निर्माण १६ डलर प्रतिघण्टाको न्यूनतम ज्याला दिइने क्षेत्रमा भएको हुनुपर्छ।

राष्ट्रपति ट्रम्पले सो सम्झौता अमेरिकी किसान, गाडी निर्माण कम्पनीका श्रमिक तथा अमेरिकी उत्पादनमूलक उद्योगका निम्ति विजय भएको बताए।

युनिभर्सिटी अफ क्याम्ब्रिजकी अन्तर्राष्ट्रिय व्यापार अर्थशास्त्री मेरेडिथ क्राउलेका अनुसार नयाँ प्रावधान हेर्दा क्यानडाले केवल देखावटी छूट दिएको देखिन्छ।

“किनभने कुनै सम्झौता बेगर पनि क्यानडाले दुग्ध क्षेत्रमा राम्रो व्यापार प्रदर्शन गरिरहेको छ,” उनले भनिन्।

साथै गाडी निर्माणमा न्यूनतम ज्यालासम्बन्धी प्रावधानका कारण अब अन्य व्यापार सम्झौतामा पनि त्यस्तै सम्झौता राख्नुपर्ने हुनसक्छ।

अमेरिकामा सो प्रावधान राजनीतिक रूपमा लोकप्रिय हुने उनले औँल्याइन्।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..