रोहितको उत्कृष्ट पारिमा युएई बिरुद्ध नेपालको शानदार जित

बंगलादेशमा जारी अण्डर १९ एशिया कपमा नेपालले विशाल लक्ष्य चेज गर्दै युएइमाथि ३ विकेटको जीत निकालेको छ । युएइले दिएको २६९ रनको ठूलो लक्ष्यलाई नेपालले ५ बल बाँकी छँदै ७ विकेटको क्षतिमा भेट्टाएको हो । नेपालको जीतमा रोहितकुमार पौडेल, सन्दिप जोरा र राशिद खान हिरो बने।

टस जितेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६८ रन बनाएको थियो । नेपालले सुरुवाती ओभरमा युएइको विकेट लिन नसक्दा युएइले विशाल लक्ष्य बनाउन सकेको थियो । युएइको पहिलो विकेट १५९ रनको स्कोरमा झरेको थियो । युएइका ओपनर फहान नवाजले ८३ र अंश टण्डनले ६७ रन बनाए ।

ओपनर नै लामो समय टिकेर २७ ओभरमा १५९ रनको ठूलो स्कोर बनाउँदासम्म कुनै पनि विकेट नगुमाएको अवस्थामा युएइको स्कोर निकै विशाल हुने ठानिएको थियो तर पहिलो विकेट झरेपछि नियमित अन्तरालमा विकेट झर्दा युएइको रनको गतिमा ब्रेक लाग्यो । युएइका लागि अन्य कुनै पनि ब्याट्सम्यानले २० रन पनि बनाउन सकेनन् । यद्यपि सबै ब्याट्सम्यानले केही न केही रन बनाउँदै जाँदा उसको योगफल २६८ पुग्यो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालको सुरुवात भने राम्रो हुन सकेन । १५ रनमै ओपनर ट्रिटराज दास (६) लाई गुमाएको नेपालले २१४ रन बनाउँदासम्म ६ विकेट गुमाइसकेको थियो । नेपालले ४५ रनको स्कोरमा रित गौतम, १०४ को स्कोरमा कप्तान आसिफ शेख, १५३ को स्कोरमा सन्दिप जोरा, १९८ को स्कोरमा पवन शर्राफ र २१४ को स्कोरमा अरुण ऐरीलाई गुमायो । अरुण छैटौं विकेटको रुपमा आउट हुँदा ४३ ओभर ३ बलको खेल भइसकेको थियो ।

यतिबेला नेपाललाई ३८ बलमा ५५ रन चाहिएको थियो । खेल चल्दै जाँदा नेपालको जीत झन् कठिन बन्दै थियो । ४५ ओभरको खेल सकिँदासम्म नेपालको रनको गति बढेन । जीतको लागि ३० बलमा ५३ रनको आवश्यकता थियो जुन निकै कठिन थियो । तर, ४६ औं ओभरमा रोहित कुमार पौडेलले १ छक्काको सहयोगमा १० रन र राशिद खानले १ रन बनाए । ४७ औं ओभरमा रोहित र राशिद दुवैले १–१ छक्का हाने । यो ओभरमा कूल १६ रन बन्यो । ४८ औं ओभरमा राशिदले फेरि छक्का हाने ।  यो ओभरमा ११ रन बन्यो । ४९ औं ओभरमा रोहितले १ चौका र १ छक्का हाने तर यही ओभरमा रन लिने क्रममा रनआउट भए । यो ओभरमा १३ रन बन्यो ।

अन्तिम ओभरमा नेपाललाई मात्रै २ रन चाहिएको थियो । पहिलो बल युएइका बलर अली मिर्जाले वाइड फाले, स्कोर बराबर भयो । जीतको लागि मात्रै एक रन चाहिएको अवस्थामा राशिद खानले छक्का हान्दै इनिङ समाप्त गरे । राशिदले छक्कासँगै नेपालको स्कोर २७४ पुर्याए । नेपालको लागि रोहित कुमार पौडेलले सर्वाधिक ९२ रन बनाए । मात्रै ८८ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे । सन्दिप जोराले २ छक्का र ६ चौकाको मद्दतमा ७४ बलमा ६७ रन बनाए । राशिद खान भने निकै आक्रामक खेले उनले मात्रै १४ बलमा २७ रनको नटआउट इनिङ खेले । यसका लागि उनले ३ छक्का प्रहार गरे ।

पहिलो इनिङमा नेपालको लागि राशिद खान, नन्दन यादव, पवन सर्राफले समान २ विकेट लिए । सागर ढकाल र सूर्य तामाङले १–१ विकेट लिए । यद्यपि यो जीत नेपालको लागि सान्त्वना मात्र हुनेछ । यसअघिका २ खेलमा भारत र अफगानिस्तानसँग पराजित नेपाल एशिया कपबाट भने बाहिरिइसकेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..