थाहा पाइराख्नुस, यस्तो छ रुद्राक्षको महत्व र महिमा

पूर्वी नेपालमा उत्पादन हुने रद्राक्षमा पछिल्लो समय चिनियाँको आकर्षण बढ्न थालेको छ । दुई वर्षयता रुद्राक्ष खोज्ने चिनियाँ बढ्न थालेको व्यवसायी बताउँछन्।

‘दुई वर्षदेखि चिनियाँहरू धेरै आउन थालेका छन्,’ पशुपतिस्थित श्री अग्रवाल रुद्राक्ष भण्डारका व्यवसाय भन्छन्, ‘पोहोरभन्दा यसपालि अझ धेरै आएका छन् ।’

उनका अनुसार चिनियाँले जस्तो पायो त्यस्तै रुद्राक्ष किन्दैनन् । राम्रो र स्तरीय रुद्राक्ष उनीहरुको रोजाइमा पर्ने गरेको छ । यसको माग पनि प्रशस्त भएको उनले बताए । सफा, गोलो, पुष्ट देखिने, पाकेको, चिल्लो रद्राक्षलाई राम्रो भनिन्छ । काठमाडौंको पशुपति क्षेत्र रुद्राक्ष व्यापारको केन्द्र मानिन्छ ।

यसअघिसम्म नेपाली रुद्राक्षको मुख्य बजार भारत थियो । चिनियाँको चासोसँगै यसको निकासी पनि बढेको छ । नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७०/०७१ को साउनदेखि जेठसम्मको ११ महिनामा आठ लाख २० हजार किलो रुद्राक्ष निर्यात भएको छ । यसबाट चार करोड ८९ हजार रुपैयाँ नेपाल भित्रेको छ ।

अधिकांश निर्यात चीनमा भएको छ । केही केही भारत लगिएको छ । अघिल्लो वर्ष यही समयमा भने तीन लाख ५८ किलो निर्यात भएको थियो । त्यसबाट एक करोड ६४ लाख रुपैयाँ नेपाल भित्रेको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

चिनियाँले नेपाली राम्रो स्तरको रुद्राक्षमा किन्न थालेपछि यसको मूल्य पनि बढेको व्यापारीले बताए । गुप्ता रुद्राक्ष पसलका व्यापारी भन्छन्, ‘पहिला ६० रुपैयाँमा पाइने इन्डोनेसियन रुद्राक्षको सानो माला अहिले ८० रुपैयाँ होलसेलमा पर्न थालेको छ ।’ तर बजारमा भने व्यापारीले ग्राहकलाई कतिमा बेच्न सक्छ त्यसैमा भर पर्ने उनले बताए । एक मालामा १०८ दाना हुन्छन् । अहिले सामान्यतः एक रुद्राक्षको मूल्य एकदेखि एक हजार रुपैयाँसम्म पर्ने व्यापारी बताउँछन् । मूल्य रुद्राक्षको स्तरमा भर पर्छ ।

नेपालमा पनि विदेशबाट रुद्राक्ष आयात हुन्छ छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार पछिल्लो ११ महिनामा १८ हजार किलो रुद्राक्ष आयात भएको छ । यसका लागि ७० लाख ५९ हजार रुपैयाँ तिरिएको छ । सबैभन्दा धेरै आयात इन्डोनेसियाबाट भएको छ । थोरै भारत र चीनबाट आएको छ ।

अहिले बजारमा पाइने अधिकांश रुद्राक्ष इन्डोनेसियाको हो । भारत हँुदै भित्रिने यो रुद्राक्ष नेपालको भन्दा सस्तो र सानो खालको हुने व्यापारी बताउँछन् । नेपालको रुद्राक्ष बोटमै बिक्री हुने र तयार हुनेबित्तिकै निर्यात हुने भएकाले बजारमा कममात्र पाइन्छ । ‘नेपाली रुद्राक्ष किन्न एजेन्टहरू किसानको बारीमै पुग्छन् । उनीहरूले बोटबाटै किनेर चीन र भारत पठाउँछन्,’ गुप्ता रुद्राक्ष पसलका व्यापारीले भने, ‘काठमाडौंमा कमैमात्र आउँछ ।’ दसैंपछि रुद्राक्षको मौसम सुरु हुन्छ । त्यसपछि एजेन्टहरू रुद्राक्ष खेती हुने पूर्वी जिल्ला पुग्छन् । रुखमै मोलमोलाइ गरेर रुद्राक्ष किन्ने गरेको किसान बताउँछन् ।

 के हो रुद्राक्ष ?

धार्मिक महत्व भएको रुद्राक्षको अर्थ शिवको आँसु भन्ने हुन्छ । ज्योतिषी सुरेशचन्द्र रिजालका अनुसार रुद्र भनेको भगवान शिव र अक्ष भनेको आँसु हो । भगवान शिवको आँसुबाट जुन रुख अस्तित्वमा आयो त्यसैलाई रुद्राक्ष भनियो । इन्डोनेसियामा उत्पत्ति भएको अुनमान गरिएको यो वनस्पति मलेसिया, थाइल्यान्ड र अस्ट्रेलियामा पनि पाइन्छ । विश्वमा एक सय २३ प्रजाति भएको रुद्राक्ष रातो, कालो, सेतो र पहेलो रङमा हुन्छ । कालो सबैभन्दा राम्रो मानिन्छ ।

बजारमा दुईदेखि २७ मुखेसम्म रुद्राक्ष पाइन्छन् । यसको मुखअनुसार अर्थ र महत्व फरकफरक हुन्छ । एकमुखे रुद्राक्ष भेट्नु प्रायः असम्भव छ । यसको मूल्य नै हुँदैन । पशुपति मन्दिरमा एकमुखे रुद्राक्ष भएको ज्योतिषी रिजालले बताए । उनका अनुसार त्योरुद्राक्षलाई हरेक मंसिर महिनाको पूर्णिमामा देखाउने चलन छ । बजारमा पाँचमुखे रुद्राक्ष सबैभन्दा धेरै पाइन्छ । व्यापारीका अनुसार बजारमा पाइने रुद्राक्षमध्ये ९० प्रतिशत पाँचमुखे हुन्छ । त्यसपछि चार र ६ मुखे धेरै हुन्छन् ।

ज्योतिषी अनुसार रुद्राक्षको धार्मिक महत्व

एकमुखे: शिवको प्रतीक, महाकाल (अकाल) बाट बचाउने। प्राप्त गर्ने चाहना हुँदा बित्तिकै पूरा हुने।

दुईमुखे: सुख–शान्ति, दाम्पत्य जीवन सुखी, मांगलिक कार्य सफल, अर्धनारीश्वरको रुप ।

तीनमुखे: मंगल ग्रहको प्रतीक। रक्तसम्बन्धी विकार, रगतको रोग, रक्तचाप, कमजोरी, रजस्वलामा आउने उतारचढाव, मिर्गौला र मुटुलाई लाभ।

चारमुखे : धर्म, अर्थ काम एवं मोक्ष जस्ता चतुर्वर्गको शुभलाभ । शिक्षामा सहयोग । रोकिएका काम पूरा हुने ।

पाँचमुखे : अशान्ति, गरिबी, मेलमिलापमा कमी, झै–झगडाबाट बचाउने । विद्या, वुद्धि बढ्ने । सन्तान सुख ।

छमुखे : भगवान कार्तिकेय, सातमुखे : सप्तग्रह र शनिश्वर, आठमुखे : श्री गणेश, नौमुखे : भगवती देवी दुर्गा, दसमुखे : विष्णु, एघारमुखे : भगवान रुद्र, बाह्रमुखे : भगवान नारायण र सूर्य ग्रह, तेह्रमुखे: इन्द्र, कुवेर, कामदेव र पितृदेवता र चौधमुखे : हनुमानको प्रतीक मानिन्छ । रुद्राक्षको प्रकारअनुसार शरीरको विभिन्न अंगमा लगाउनुपर्छ । हात, गला, शिरमा लगाउनुपर्छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..