तराईमा अझै पनि छोरीमाथि यस्तो विभेद, बिहे नगर्दा सांसदको समेत थर छैन

काठमाडौं । तराई मधेसका जिल्लामा छोरीहरुमाथि थरमा समेत विभेद हुने गरेको पाइएको छ । नागरिकता, शैक्षिक प्रमाणपत्र लगाएत अन्य विभिन्न कागजातमा थर नहुँदा विभिन्न काम गर्दा हरेक पटक प्रमाणित गर्नुपर्ने झन्जट व्यहोर्नु परेको उनीहरुले बताएका छन् ।

सामान्य किशोरी मात्रै होइन कतिपय सांसद समेतले यस्तो समस्या झेल्नु परेको गुनासो गरेका छन् । महोत्तरीका पुजालाई तपाईको नाम के हो ? भनेर सोध्दा उनको उत्तर आउनेछ, मेरो नाम पूजा साह । तर नागरिकता हेर्नुभयो भने नाम छ थर भेटिँदैन ।

नागरिकताबाट थर नै गायव भएपछि पूजा अहिले हैरान छिन् । गौशालाको एउटा विद्यालयमा पढाउने पूजा मात्रै होइन, सोध्दै जाँदा नागरिकतामा नाम हुने थर नभेटिने महिलाहरुको लस्कर नै भेटियो । अञ्चित मावि बाराका शिक्षक पप्पु सिंहका अनुसार ५ सय जना छात्राहरु मध्ये ४ सय ३४ जनाको नाम छ थर छैन ।

हस्तरा ७, हालको सिरहा नगरपालिकाको जनता आधारभूत विद्यालयका शिक्षक भोगेन्द्र यादवका अनुसार १ सय २९ जना छात्राहरुमध्ये २० जनाले थर लेख्दैनन । यो क्रम नागरिकता बनाउदासम्म पनि रहन्छ । जन्मदर्ता अनुसार विद्यालयमा भर्ना गर्दा छोरीको थर लेखिदैन कुमारी मात्रै लेखिन्छ ।

पढ्दै जाँदा एसएलसी लगाएत उच्च शिक्षाका प्रमाणपत्रहरुमा नामको पछि कुमारी मात्रै हुन्छ । नागरिकतामा पनि कुमारी कायम रहन्छ । विवाह गर्नुअघि नामपछि कुमारी, विहे गरेपछि देवी, तर थर छैन । नागरिकतामा नामको पछि थर नहुँदा– नागरिता चाहिने हरेक काममा समस्या भोग्नुपर्छ । समस्या भोग्ने सामान्य महिला मात्रै छैनन् ।

खोज्दै जाँदा सांसदहरु पनि भेटिए । सर्लाहीबाट प्रदेश नम्बर २ का सांसद श्यामपरि देवीले अहिलेसम्म थरको परिचय पाएकी छैनन् । रौतहटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद रेखा कुमारीको सम्पूर्ण प्रमाणपत्रदेखि नागरिकतासम्ममा कुमारी मात्रै छ ।

नागरिकतामा बुवाको नामसहित थर छ, तर उनको नाममा कुमारी मात्रै । विहे नगर्दा सच्याउन सकिएन अहिले उनी झन्झटमा फस्न चाहँदिनन् । छोरीको न त बिहे अघि, न त पछि कुनै जात वा थर हुँदैन भन्ने मधेसमा मान्यता छ ।

पुस्तौ, पुस्तादेखि चलेको त्यो मान्यतामा ठूलो समुदाय अहिले पनि अडिक रहेको बताउँछिन्, जनकपुरका अनामिका मण्डल । शैक्षिक प्रमाणपत्रमा कुमारी र नागरिकताको नाममा बिहेपछि देवी हुँदा दुबै नामधारी मै हुँ भनेर प्रमाणित गर्नुपर्छ । सच्याउन खोज्दा पाइने दुःखले सयौ महिलाहरु जिल्ला प्रशासन कार्यालयसम्म पनि पुग्ने गरेका छैनन् ।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरी भने सच्याउन निवेदन दिए विवरण हेरेर थर लेख्ने गरेको बताउँछन् । नामको पछाडी थर नभएका कारण अघिल्लो पुस्ताले समस्या भोगिरहेकै छन् । तर नयाँ जन्मिदै गरेका छोरीलाई पनि नाम दिने बुवाआमाले थर भने दिइरहेका छैनन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..