
केही दिनयता भारतको सञ्चार जगत्का चर्चित पत्रकारहरूमाथि खासगरी कनिष्ठ महिला पत्रकारहरूसँग दुर्व्यवहार वा अशोभनीय व्यवहार गरिएका आरोपहरू लागिरहेका छन्।
यसलाई कतिपयले भारतीय सञ्चार जगत्को #MeToo को रूपमा वर्णन गरेका छन्। तर के यो अभियानले हलिवूडमा जस्तै शक्तिशाली पुरुषहरूलाई अप्ठेरो पार्ला? हालसम्म आरोपितमध्ये एक, दुईजना बाहेक प्राय: धेरै ठूलो पदका छैनन्।
अमेरिकामा जस्तो ‘हार्भी वाइन्सटिन’ अझै सार्वजनिक भइसकेका छैनन्। यो अभियान अब कसरी अगाडि बढ्नेछ त्यसैले यसको शक्ति देखाउनेछ। तर यदि विगतको आधार मान्ने हो भने स्थिति धेरै आशाप्रद छैन किनकि विगतमा भएका यस्तै प्रयास धेरै सार्थक भएन।
प्राज्ञिक क्षेत्रका केही नाम आरोपित भए तर ट्विटरमा ती चर्चा सेलाइहाले।
बलिवूडमा पनि आरोप लागे तर त्यो धेरै अघि बढ्न सकेन। साथै जसले आरोप लगाएका छन् उनीहरूलाई पनि सहज वातावरण छैन। खासगरी यदि ती आरोप पुष्टि गर्ने प्रमाण छैन भने।
केही महिलाले आफ्ना आरोप पुष्टि गर्न सामाजिक सञ्जालमा भएका कुराकानी वा ‘च्याट’ का तस्वीर सार्वजनिक गरेका छन्। तर जहाँ त्यस्ता प्रमाण छैनन् र जहाँ केवल आरोप छ, त्यहाँ कतिपय महिलामाथि मानहानी तथा कानूनी कारबाहीका धम्की दिइएका छन्। कतिपयले आरोप लगाइएका ट्वीट हटाएका छन्।