
इङल्याण्डको प्लाइमाउथमा बस्ने एक जोडी त्यतिबेला चकित पर्यो जब उनीहरुले आफ्नो घरको ड्रइङरुम मा सोफामुनि एउटा इनार भएको थाहा पाए । त्यसपछि उनीहरुले खजानाको आशामा यसभित्र खन्न थाले । खजाना त भेटिएन तर निकै खतरनाक चीज भेटिएपछि उनीहरुको सातोपुत्लो उड्यो र उनीहरुले पुलिस बोलाए ।
६७ वर्षका कोलिन स्टिरले घरको सफाइ गर्ने क्रममा सोफामुनि केही जमिन दबिएको भेटेका थिए । उनले त्यहाँ जाँच गर्दा एउटा इनार भेटेका थिए । इनारको चौडाइ करिब ३० इन्च थियो । कोलिनलाई लाग्यो कि यहाँ खजाना हुन सक्छ । उनले तल गएर इनारको पिँधमा खन्न थाले । केही फिट खनेपछि पानी भेटियो । कोलिनले केही दिन काम रोके र फेरि खन्न थाले । कोलिनलाई लागेको थियो कि यहाँ खजाना छ । तस्रो दिन उनले पिँधमा पाइपजस्तो केही चीज भेटे । उनले यो वस्तुलाई बाहिर निकालेर सफा गरे । त्यसको असलियत थाहा पाउँदा कोलिनको सातो गयो ।
यो जर्मन सेनाको एक खतरनाक बम थियो । बम भेटिएपछि कोलिनले यसको सूचना पुलिसलाई दिए । बम डिस्पोजल टोलीका अनुसार यो दोस्रो विश्वयुद्धको बेलाको हुन सक्छ । तर, यो इनार कसले कहिले बनायो र त्यहाँ बम कसरी आयो भन्ने रहस्य भने खुल्न सकेन । एजेन्सी