किन हुँदैछ एनआरएनको ज्ञान-सीप सम्मेलन ?

सधैँ नेपालमा लगानी भित्र्याउने योजना भएको बताउने गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले देशको समृद्धिका लागि अब संसारभरि छरिएर रहेका नेपालीको ज्ञान र सीपलाई समेत उत्तिकै प्राथमिकताका साथ भित्र्याउने रणनीति बनाएको बताएको छ।

यसको पहिलो कदमका रूपमा शुक्रवारदेखि काठमाण्डूमा तीनदिने एनआरएन ग्लोबल नलेज कन्भेन्शन आयोजना गर्न लागिएको र त्यसले देशबाहिर रहेर विभिन्न विधामा विद्वता हासिल गरेका नेपालीहरूको पहिचान गर्ने काम सुरु हुने सङ्घको भनाइ छ।

एनआरएनए केही व्यापारीहरूको क्लब मात्र भयो भनेर लागिरहने आरोपलाई चिर्न पनि यस्तो अभ्यास सुरु गरिएको सङ्घका पदाधिकारीहरूले बताएका छन्।

देशबाहिर रहेका थुप्रै नेपालीहरू विशेषज्ञका रूपमा विभिन्न उद्यमदेखि लिएर विश्वस्तरका परियोजना र कम्पनीमा काम गरिरहेका भए तापनि अहिलेसम्म तिनको पहिचान गर्ने काम नै हुन नसकेको बताइएको छ।

एक वर्षअघि यो सम्मेलन हुने बताइएपछि ज्ञान र सीप भएका धेरै नेपालीहरू सम्पर्कमा आएका र उनीहरू देशका लागि योगदान गर्न उत्सुक देखिएको सङ्घका पदाधिकारीहरूले बताएका छन्।

सम्मेलनको संयोजक समेत रहेका सङ्घका उपाध्यक्ष कुमार पन्त भन्छन्, “हामीले ज्ञान र सीपको कुरा गरिरहँदा कुनै पीएचडी वा अन्य पढाइका डिग्रीलाई मात्र हेरिराखेका छैनौँ। न्यू जिल्यान्डमा बसेर गाई पाल्नेहरू, इजरायलमा बसेर खेती गर्नेहरूको अनुभव हाम्रा लागि उत्तिकै महत्त्वपूर्ण छन्।”

जानकारहरूका भनाइमा गैरआवासीय नेपालीहरू संसारभरि आतिथ्य व्यवसाय, जलविद्युत्, कृषि तथा पशुपालन, विज्ञान तथा प्रविधि, चिकित्साजस्ता क्षेत्रमा कार्यरत छन्।

तीनसय ५० भन्दा बढी विज्ञहरू सहभागी हुने बताइएको सम्मेलनमा प्रस्तुत हुने डेढ सयजति कार्यपत्रहरूमध्ये धेरैजसो स्वदेशी सरोकारका खाद्य, वातावरण, ऊर्जा, यातायात, सूचनाप्रविधिमा केन्द्रित रहनेछन्।

सम्मेलनमार्फत् ती विज्ञहरूको अनुभवलाई नेपालमा उद्यम सिर्जना र नीति निर्माणजस्ता काममा लगाउने लक्ष्य राखिएको सङ्घको भनाइ पाइन्छ।

तिनलाई कार्यान्वयन तहमा जान सघाउनेगरी सम्मेलन लगत्तै सरकार, गैरआवासीय नेपाली र स्थानिय लगानीकर्ता मिलेर १० अर्ब रुपैयाँ बराबरको पूर्वाधार कोष स्थापना गर्न समेत लागिएको एनआरएनएले बताएको छ।

आफूहरूले निर्वाह गर्न सक्ने भूमिकाबारे क्यानडाबाट सम्मेलनमा सहभागी हुन आएका भूक्षय तथा सुरुङविद् इन्जिनियर नरेश कोइराला भन्छन्, “मुख्य कुरा सरकारले ज्ञानको सम्मान गर्न सिक्नुपर्‍यो जुन अहिले देखिँदैन। यहाँका ठूला परियोजनाहरू न कुनै समयमा सकिएका छन् न त अनुमानित बजेटभित्रै। गुणस्तरको समस्या त छँदैछ। यसको कारण नीतिगत तहदेखि नै समस्या हुनु हो। ”

तर बर्सेनि चाडपर्वमा घर फर्केका बेला मात्र सङ्घले ठूला सपना बाँड्ने काम गर्ने तर त्यसबमोजिम नतिजा दिन चुकिराखेको भन्दै आलोचना समेत हुनेगरेको पाइन्छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..