दशैं मान्न राजधानी बाहिरिने यात्रुको सङ्ख्या बढ्यो, शुक्रबार डेढ लाख बाहिरिए

काठमाडौ । नेपालीहरूको महान् चाड दशैं मनाउन आ–आफ्नो घर जाने यात्रुको संख्या दैनिक रूपमा बढिरहेको छ ।
बजारमा किनमेलका लागि भीडभाड बढेको छ भने काठमाडौं उपत्यका छोड्ने यात्रुको संख्या पनि हरेक दिनजसो बढेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार शुक्रबार १ लाख ५७ हजार ९५१ यात्रु दसैंका लागि बाहिरिएका छन् ।
त्यसभन्दा अघिल्लो दिन बिहीबार १ लाख १०हजार ३२७ जना यात्रु बाहिरिएका थिए ।हिजो पनि झण्डै दुई लाखको हाराहारीमा उपत्यकाबाट यात्रु बाहिरिएका छन् । सरकारले ५ असोजदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खोलेको थियो ।
त्यस दिनदेखि हिजोसम्म २० लाख भन्दा धेरै यात्रुले उपत्यका छाडेको महाशाखा प्रमुख वसन्त पन्तले बताउनुभयो । ५ असोजदेखि शुक्रबारसम्म २ लाख ११ हजार ५ सय ६५ वटा सार्वजनिक सवारी बाहिरिएका छन् ।
त्यस्तै, उपत्यकाका विभिन्न स्थानका टिकट काउन्टरबाट कुल १ लाख ४२ हजार २ सय ४१ वटा टिकटको अग्रिम बुकिङ भएको छ ।तर, अहिलेसम्म १९ लाखको हाराहारीमा यात्रुहरू बाहिरिएका छन् । अधिकांश यात्रुहरू अग्रिम टिकट बुकिङ नगरी आफ्नो घर जाने गरेका छन् । जसले गर्दा बढी भाडा लिने तथा टिकटमा कालोबजारी बढेको पनि ट्राफिक प्रहरीले जनाएको छ ।

 

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..