शाह वंशीय श्रीपेच भोलीबाट सर्वसाधरनले हेर्न पाउने

काठमाडौ । शाहवंशमा राजाले लगाउने श्रीपेच भोलीबाट सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला गरिने भएको छ ।

नारायणहिटी दरबार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन्। पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरबार, झारी, चमरलगायत सामग्री पनि अवलोकनका लागि राखिने छ।

भोली प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीपेच राखिने कक्षको उदघाटन गरेसँगै सर्वसाधारणका लागि पनि सो कक्ष खुल्ला गरिने दाहालले बताउनुभयो । विभागका महानिर्देशक दाहालकै संयोजकत्वमा गठित समितिले असोजभित्र श्रीपेचलाई प्रदर्शनीमा राख्न दिएको सुझावसहितको प्रतिवेदनका आधारमा नै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सो व्यवस्था गर्न लागेको हो।

अवलोकनका लागि राखिने श्रीपेच पूर्वराजा वीरेन्द्रका लागि तयार गरिएको थियो। काठमाडौंका प्रेमलाल श्रेष्ठले २०२८ सालमा सो श्रीपेच तयार गर्ने जिम्मा पाउनुभएको थियो ।

राजाहरूले राज्यारोहण, राज्याभिषेक, छोरीको कन्यादान गर्ने बेला, युवराज्ञीलाई भित्राउँदा र तस्बिर खिचाउने बेला श्रीपेच लगाउने चलन थियो। २०६५ साल जेठ २९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार छाडेसँगै श्रीपेचलाई दरबारको सैलुन कक्षमा राखिएको थियो।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..