दशैको महाअष्टमी पर्व मनाइँदै, लाखौ पशुको बली दिने परम्परा

काठमाडौ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाअराधना गरी मनाइँदैछ ।

आजका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्र सम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाको विशेष पूजाआजा गरिनाका साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गर्ने गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा. डा रामचन्द्र गौतमले बताउनुभयो ।

आजैका दिन राति पशुबलिको विधि र पूजाआजासहित कालरात्रि मनाउने गरिन्छ । आजका दिन काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, सुन्दरीमाईलगायतका मन्दिरमा पनि बलिसहित पूजाआजा गर्नेको बिहानैदेखि भीड लागेको छ ।

यसैगरी उपत्यका बाहिरका नुवाकोटका देवीघाट र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, लगायतका शक्तिपीठमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।

आजै राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिनेछ ।दशेभरीमा लाखौ पशुको बली दिएर अष्टमी मनाउने गरिन्छ । तर कुनै शास्त्र, धर्मले पशुबलिका विषयमा नलेखेको विज्ञहरुले बताएका छन् ।

यसैबीच आज महाअष्टमीका दिन तराई मधेशका विभिन्न देवी भगवतीको शक्तिपीठमा खोइछ भरिदैँछ । विभिन्न देवी शक्तिपीठ एवं दुर्गाको प्रतिमा स्थापित भएको मन्दिरमा विवाहित महिलाहरुले खोइछ भर्दैछन् । अष्टमी तिथिका दिन फूलपातीको विधि सम्पन्न भएपछि भाकल पूरा भएका महिलाले विभिन्न प्रकारका शृङ्गारका सामान, फलफूल, नौवैद्य, चुनरीलगायतका पूजा सामग्री राखी खोइच भर्ने गरिन्छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..