
काठमाडौ । खण्डहर बन्न पुगेको रानीपोखरी र त्यसको बिच भागमा रहेको बालगोपाल मन्दिर पुनर्निर्माण नभए पनि भाइटीकाको दिन खुला हुने भएको छ।
काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको रानीपोखरीमा रहेको बालगोपालको मूर्ति ल्याएर एक दिनका लागि मात्र खुला गर्न लागिएको हो। हाल छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको मूर्ति भाइटीकाको अघिल्लो दिन रानीपोखरी परिसरमा राखेर सर्वसाधारणका लागि खुला गर्ने तयारी भइरहेको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।
२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पारेको सो मन्दिरको पुनर्निर्माण पुरातत्त्व विभागले सुरु गरेको थियोे। गत असारभित्रै पुनर्निर्माण सम्पन्न गरिने बताइए पनि महानगरसँगको विवादले स्थगन भएको थियो।
हरेक वर्षको भाइटीकामा बालगोपालको दर्शन गर्नका लागि रानीपोखरी खुल्ने गरेको थियो। दिदीबहिनी वा दाजुभाइ नहुनेहरू यहाँ गएर टीका लगाउँछन्। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।