प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उहाँको उपचारमा संलग्न प्रा डा. अरुण सायमीले प्रधानमन्त्री ओलीले आज बिहान सजिलैसँग खाजा खानुभएको र स्वास्थ्यमा उल्लेख्य सुधार रहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली सोमबार बिहान छातीमा संक्रमण भई श्वासप्रश्वासमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको थियो । उपचारका क्रममा रगत परीक्षणको रिर्पोटअनुसार स्वास्थ्यमा निकै सुधार आएको सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य अवस्थाबारे जानकारी लिन आएका शुभेच्छुकसँग सजिलैसँग दोहोरो कुराकानी गर्नुभएको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । प्रधानमन्त्रीको उपचारमा डा सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित हुनुहुन्छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी सभामुख कृष्णबहादुर महराले स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख बिहान ८ बजे त्यहाँ पुग्नुभएको थियो । भेटपछि सभामुख महराले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सकले आफूलाई जानकारी दिएको बताउनुभयो ।

यसैबीच, प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिन नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पनि आजै बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुग्नुभएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी दिँदै प्राडा अरुण सायमीले भन्नुभयो, “प्रधानन्त्री ओलीले बिहानी खाजा खानुभयो, दाह्री काटेर चिटिक्क परेर बस्नुभएको छ, भेट्न आएका शुभेच्छुकसँग सजिलोसँग कुराकानी गर्नुभएको छ ।”

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे अस्पतालले बिहान १० बजे उपचारमा संलग्न चिकित्सकको टोलीमार्फत सञ्चारकर्मीलाई जानकारी गराएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी लिन र स्वास्थ्य लाभको कामना गर्न पार्टीका नेता एवं कार्यकर्ता र शुभेच्छुकको अस्पताल परिसरमा बाक्लो उपस्थिति रहेको छ ।

छातिमा सङ्क्रमण देखिएको कारण उपचारका लागि प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा हिजो सोमबार भर्ना हुनुभएको हो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..