मन्त्री केशव स्थापित बर्खास्त

काठमाडौं। तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई बर्खास्त गरिएको छ। तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्री स्थापितलाई बर्खास्त गरेका हुन्।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेल र स्थापितबीच भनाभन भएको थियो। मन्त्रिपरिषद बैठकमै मुख्यमन्त्रीलाई अपशब्द गरेको आरोप स्थापितमाथि लागेको थियो।

आफूलाई अभद्र व्यवहार गरेपछि सो विषयमा जानकारी गराउन मुख्यमन्त्री पौडेल बिहीबार काठमाडौं आएका थिए। मुख्यमन्त्री पौडेलले शुक्रबार विहान प्रधानमन्त्री केपी ओलीसँग अस्पतालमा नै भेट गरेका थिए। प्रधानमन्त्रीसँगको भेटपछि मुख्यमन्त्री पौडेलले स्थापितलाई मन्त्री पदबाट बर्खास्त गरेका हुन्।

मुख्यमन्त्री पौडेलले संधिवानको धारा १६९ को उपधारा २ को खण्ड (ख) अनुसार स्थापितलाई बर्खास्त गरी स्थापितले सम्हालेको मन्त्रालयको जिम्मेवारी आफैंले लिएका छन्।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकमा मुख्यमन्त्री पौडेलले स्थापितले सम्हालेको मन्त्रालयको कामको गति सुस्त भएको र कार्यशैली ठिक नभएको बताएपछि आक्रोशित भएका स्थापितले मुख्यमन्त्री पौडेललाई बैठकमा नै अपशब्द प्रयोग गरेको आरोप लागेको थियो।

मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितको विवादमा प्रदेश राजधानी पनि एक कारक बनेको थियाे। मुख्यमन्त्री पौडेल अस्थायी राजधानी हेटौंडालाई स्थायी राजधानी बनाउन चाहन्छन। तर, स्थापित भने ‘काठमाडौं नजिकका क्षेत्र’ लाई स्थायी राजधानी बनाउन लबिङ गर्दैै आएका छन्।

महिलामथि यौन दुव्र्यवहार र उत्पीडनको आरोप खेपिरहेका मन्त्री स्थापितले मुख्यमन्त्री पौडेललाई पनि पटक/पटक अभद्र व्यवहार गरेको आरोप छ। मन्त्री स्थापित काठमाडौं महानगरकी एक पूर्वकर्मचारीबाट यौनसम्बन्धि आरोप पनि खेपिरहेका छन् ।स्थापितले २०७४ माघ २९ गते पद तथा गोपनियताको सपथ लिएका थिए।

काठमाडौं महानगरका पूर्वमेयर स्थापितमाथि महानगरपालिकाअन्तर्गत् हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रममा कार्यरत् तत्कालीन एक शाखा अधिकृतले ‘यौन प्रस्ताव’ सम्बन्धि आरोप लगाएकी छन्।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..