पराजयको कारण खोज्दै काँग्रेस, देउवाले दिए यस्तो निर्देशन

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भोगेको पराजयको विषयमा समीक्षा गर्न केन्द्रीय सदस्य र महासमिति बैठक बोलाउन आफू तयार रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा बिहीबार बसेको केन्द्रीय समिति बैठकमा आफ्नो धाराणा राख्दै काग्रेस सभापति समेत रहनुभएका देउवाले निर्वाचनको समीक्षा गर्न छिट्टै केन्द्रीय समिति र महासमिति बैठक बोलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

देउवाको नेतृत्वका कारण निर्वाचनमा निराशाजनक नजिता आएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र युवा नेताहरुले केन्द्रीय समिति र महासमिति बैठक माग गर्दै आएका थिए । पार्टी संघीय संरचना अनुसार विधान परिवर्तन गर्दै अघि बढ्ने भन्दै देउवाले बैठकमा राष्ट्रियसभामा उम्मेदवार तय गर्ने विषयमा सुझाव दिन केन्द्रीय सदस्यहरुसँग आग्रह गर्नुभयो ।

बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, निर्वाचनमा अन्य दलसँगको सहकार्यका साथै समसामयिक राजनीतिक विषयमा छलफल भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बसेको हो ।

उक्त निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि पार्टीभित्र नेतृत्वको आलोचना हुनाका साथै केन्द्रीय समिति र महासमिति बैठक बोलाउनुपर्ने माग उठ्दै आएको छ । गत मंसिर १० र २१ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मुलुकको ठूलो दल काँग्रेस पहिलो स्थानबाट दोस्रो स्थानमा पुगेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..