टेस्ट ट्युब रूख: लोप हुनबाट जोगाउने उपाय?

प्रयोगशालामा टेस्ट ट्युबबाट ओकको एउटा सानो बेर्ना उमारियो। विशाल ओकवृक्षको त्यो बेर्नाको जीवन भने असामान्य रूपमा आरम्भ भएको हो। जङ्गली वनस्पति संरक्षण गर्ने नयाँ प्रयासअन्तर्गत प्रयोगशालामा विभिन्न प्रविधि प्रयोग गरेर त्यो बेर्ना उमारिएको हो। अहिले वनस्पतिहरू असामान्य गतिमा लोप हुन थालेका छन् र पाँचमध्ये एउटा वनस्पति लोप हुने खतरामा छ।

वेस्ट ससेक्सस्थित क्यूज् मिलेनियम सीड ब्याङ्कका डा. जन डिकी भन्छन्, “यो प्राकृतिक स्थानबाट वनस्पति लोप हुनबाट जोगाउन गरिएको बीमा नीति हो।”

“प्राकृतिक स्थलमै गरिने संरक्षण राम्रो हो, किनभने त्यसो गर्दा क्रमविकास सधैँ सम्भव हुन्छ। तर त्यो पद्धतिले काम गरेन भने यो प्रभावकारी विकल्प हुनसक्छ।”

युद्ध र अन्य विनाशकारी परिस्थिति विचार गरेर अन्नबाली र जङ्गली वनस्पतिका बीउहरू बम, बाढी र विकिरणबाट जोगिने खालका भण्डारमा राखिएका छन्। जोखिममा परेका वनस्पतिका कम्तीमा पनि ७५ प्रतिशत प्रजाति सन् २०२० सम्म सङ्कलन र भण्डारण गर्ने उद्देश्य राखिएको छ। केही बीउ परम्परागत विधि प्रयोग गरेर संरक्षण गर्न नसकिने भएकाले त्यो उपलब्धि हासिल गर्न सम्भव छैन भन्ने आकलन पनि गरिएको छ।

‘नेचर प्लान्ट्स’ जर्नलमा प्रकाशित शोधका अनुसार अतिसङ्कटापन्न ३६ प्रतिशत वनस्पतिका प्रजाति, ३३ प्रतिशत रूख र औषधीय गुण भएका झन्डै १० प्रतिशत वनस्पतिहरू यो वर्गमा पर्छन्।

मिलेनियम सीड ब्याङ्कमा क्रायोप्रिजर्भेशन अर्थात् शीतविधिबाट गरिने संरक्षणमा कार्यरत ड्यानियल बाएस्टेरोस भन्छन्, “सबै वनस्पति प्रजाति हामीले बीउ ब्याङ्कमा फ्रिजमा सुख्खा बीउ राखेर संरक्षण गरेजस्तो गर्न सकिँदैन।”

“उदाहरणका लागि ओक र कटुसका बीउ छन्। सुकाइयो भने ती मर्छन्।”

संरक्षण गर्न कठिन हुने कफी, चकलेट, अभोकाडो र ओकजस्ता वनस्पतिका बीउ जोगाउन शीतसंरक्षणजस्ता विधिहरूबारे अनुसन्धान हुँदैछ।

शीतविधिमा वनस्पतिको भ्रूणलाई बीउबाट निकालेर न्यून तापक्रममा तरल नाइट्रोजनमा राखिन्छ। यसरी ओकजस्ता रूखहरू भविष्यका लागि जोगाउन सकिन्छ। तर यी विधिहरूलाई परिष्कृत बनाउन र परम्परागत बीउ ब्याङ्कसँगै शीतसंरक्षण गर्ने केन्द्रहरू बनाउन नयाँ लगानी आवश्यक पर्छ।

मिलेनियम सीड ब्याङ्कमा ४० हजार प्रजातिका जङ्गली वनस्पतिका बीउलाई सुकाएर -२० डिग्री सेन्टिग्रेड तापक्रममा राखिएको छ। विश्वका अरू बीउ ब्याङ्कहरू धानजस्ता अन्नबाली र तिनसँग सम्बन्धित जङ्गली प्रजातिको संरक्षणमा केन्द्रित छन्। संरक्षित बीउ उपयोगी भएको देखिन थालिसकेको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..