राष्ट्रियसभा निर्वाचनको विधि र प्रक्रियाबार आयोगले दलहरुलाई जानकारी गरायो

काठमाडौ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको विधि र प्रक्रियाका बारेमा राजनीतिक दलहरुलाई विस्तृत जानकारी गराएको छ ।

निर्वाचन आयोगले मंगलबार आयोगकै केन्द्रिय कार्यालय कान्तिपथमा सबै राजनीतिक दलहरुलाई बोलाएर राष्ट्रियसभा निर्वाचनको मतदान र मतगणनाका विषयमा विस्तृत जानकारी गराएको हो । त्यसक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनलाई सहज ढंगले सम्पन्न गराउन सहयोग गर्न सबै राजनीतिक दलहरुसँग आग्रह गर्नु भयो । उहाँले मतदाताहरुलाई मतदान गर्ने विधिबारे पनि दीक्षित गराउन सबै राजनीतिक दलहरुको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गरे कडा कार्वाही गर्ने चेतावनी पनि दिएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले आचारसंहिता उलंघन गर्ने उम्मेदवार, सम्बन्धित दललाई कडा कार्वाही हुने चेतावनी दिनु भएको हो । निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गराउने दायित्व राजनीतिक दलहरुको रहेको पनि उहाँले स्पष्ट पार्नु भयो ।

आगामी माघ २४ गते बुधबार राष्ट्रियसभा निर्वाचनको मतदान हुँदैछ । मतदान कार्य २ दिन भित्र सम्पन्न गरिसक्ने निर्वाचन आयोगको योजना छ । प्रमुख निर्वाचन आयुक्त यादवले एकल संक्रमणीय र बहुमतीय दुवै प्रक्रियाबाट मतगणना हुने भएकाले त्यसलाई सहज बनाउन पनि राजनीतिक दलहरुसँग आग्रह गर्नु भयो ।

५९ सदस्यीय राष्ट्रियसभाका लागि हुने निर्वाचनमा २ हजार ५६ जना मतदाता रहेका छन । उनीहरुलाई स्वतन्त्र ढंगले मतदान गर्ने वातावरण बनाउन निर्वाचन आयोगले राजनीतिक दलहरुलाई आग्रह गरेको हो । राष्ट्रिय सभा निर्वाचनमा २१ वटा राजनीतिक दलहरुले भाग लिएका छन । भोलि बुधबार राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता गर्ने कार्यसूचि तय गरिएको छ । राष्ट्रियसभाको निर्वाचनको मतदान सबै प्रदेशको उच्च अदालत रहेको स्थानमा गर्ने व्यवस्था गरिएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..