राष्ट्रियसभाका लागि कूल ८३ जनाको उम्मेदवारी

काठमाडौ । राष्ट्रियसभाका ५६ पदका लागि बिभिन्न दलबाट ८३ जनाको उम्मेद्वारी दर्ता भएको छ । जस मध्य २१ महिला निर्वाचित हुनेछन् ।

राष्ट्रियसभाका ५६ सदस्य चुन्न माघ २४ गते हुने निर्वाचनका लागि सातवटै प्रदेशमा तोकिएको निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रियसभा सदस्यका प्रत्यासीले आज उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये प्रदेश नम्बर एक, दुई, पाँच र सातमा महिलातर्फका उम्मेदवार निर्विरोध हुने भएका छन् । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ३ महिलासहित अन्य (खुला) तर्फबाट ३, अल्पसंख्यक र दलितबाट १–१ सहित ८ जना एकल संक्रमणीय पद्दतीबाट निर्वाचित हुने व्यवस्था छ ।

प्रदेश नम्बर १ मा १२ जनाको उम्मेदवारी परेको छ । तीन जना निर्वाचित हुने महिलातर्फ कृषि राज्यमन्त्री सरिता प्रसाई, एमालेका नैनकला ओझा र माओवादी केन्द्रका वीना पोखरेलको मात्रै उम्मेदवारी परेको छ । दावी विरोध परेर दर्ता खारेज नभए उनीहरु निर्विरोध निर्वाचित हुने छन । अन्य (खुला), अल्पसंख्यक र दलितका सिटका लागि भने निर्वाचन हुने छ । प्रदेश नम्बर २ मा ९ जनाको उम्मेदवारी परेको छ । माओवादी केन्द्रले महिला र दलित तथा एमालेले खुलातर्फ उम्मेदवारी दिएको छ ।

कांग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले सहकार्य गरी २–२ सिट बाँडेर उम्मेदवारी दिएका हुन् । तीन जना निर्वाचित हुने महिलातर्फ माओवादी केन्द्रका शशीकला दाहाल, कांग्रेसका मुक्ताकुमारी यादव र संघीय समाजवादी फोरमका प्रमिला कुमारीको मात्रै दाबेदारी परेका कारण उनीहरु निर्विरोध हुने भएका हुन् । यता, प्रदेश नम्बर ३ मा १७ जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट ६, नेपाली कांग्रेसबाट ४, माओवादी केन्द्रबाट २, नेपाल मजदुर किसान पार्टीबाट ४ र राप्रपाबाट १ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । यो प्रदेशमा खुलातर्फ माओवादी केन्द्रका रामबहादुर थापा, एमालेका बेदुराम भुषाल र कांग्रेसका राधेश्याम अधिकारी प्रतिस्पर्धामा छन । यस्तै, प्रदेश नम्बर ४ मा १२ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन ।

बाम गठबन्धनबाट ६, कांग्रेसबाट ४ र राष्ट्रिय जनमोर्चाबाट २ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । यहाँ राष्ट्रिय जनमोर्चाले पनि खुला र महिलातर्फ उम्मेदवारी दिएको हो । यहाँ प्रदेशसभाका ६० र स्थानीय निकायका १ सय ७० गरी २ सय ३० मतदाता छन् । उता, प्रदेश नम्बर ५ मा एमाले र कांग्रेसका चार–चार, माओवादी केन्द्रका दुई र राष्ट्रिय जनमोर्चाका एक जनाले मनोनयन दर्ता गराएका छन् । महिलाको ३ सिटमा एमालेका कोमल वली र मीना बुढा तथा नेपाली कांग्रेसकी अनिता देवकोटाको मात्रै उम्मेदवारी परेको छ । उनीहरु निर्वाचित भएको वा नभएको औपचारिक घोषणा भने उम्मेदवारको नाममाथि दाबी विरोधको समय सकिएपछि १५ गतेमात्रै हुने छ । प्रदेश नम्बर ५ मा १ सय ९ स्थानीय तहका २ सय १८ प्रमुख, उपप्रमुख र ८७ प्रदेशसभा सदस्य गरी ३ सय ५ मतदाता छन । यस्तै, प्रदेश–६ बाट १२ जनाको उम्मेदवारी परेको छ ।

वामगठबन्धनको तर्फबाट एमालेले ५ तथा माओवादी केन्द्रका ३ र कांग्रेसले ४ जनाको उम्मेदवारी दर्ता गराएको हो । यस प्रदेशमा स्थानीय तहका १ सय ५८ र प्रदेशसभाका ४० जना गरी १ सय ९८ मतदाता छन्

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..