रत्नपार्कको अध्यारो व्यापार : एक पटकको १५ सय, रातभरीको ४ हजार

केही दिन अघि, म बेलाबखतमा चर्चाको शिखरमा आउने र सेलाउने तर गतिविधी नरोकिने एउटा बिडम्वनापुर्ण अवैद्य व्यापारको बारे बुझ्न मेरो फोटोग्राफर साथी सहित राजधानीको रत्नपार्क छेउ पुगेँ ।

मेरो अनुमान सायद रत्नपार्कको छेउमै उभिईरहँदा सत्यको नजिक पुगिरहेको थियो । एक मनले मैले चाहेको स्टोरी अब पुरा हुनेभयो भन्दै खुसीपनि लाग्यो तर त्यो भन्दा बिडम्वना रत्नपार्कको डिलमा वार्गेनिङ्ग चल्न थाल्दा आँफैलाई स्वभाविक दिकदारी लाग्यो ।

कथा अघि बढ्दै गयो, टिसर्ट, लेगिन्स र चप्पल लगाएका र छाता बोकेर यताउता गरिरहेका, उमेरले अन्दाजी १८ र २३ वर्षका २ युवती हाम्रो सामुन्ने मै आएर अस्वभाविक शारिरिक प्रस्ताव देखाउन थालेको हामीलाई महशुस भयो । हामीले पनि चासोपुर्वक उनीहरुतर्फ आफुलाई केन्द्रित गर्दै आँखा–आँखाको अस्वभाविक गफ गर्न थाल्यौं । आँखाको गफले हामीलाई मौखिक गफ गर्न थप सहज बनाई हाल्यो ।

उनीहरुले हामीलाई कता जान लागेको हो भन्ने प्रश्नबाट कुराकानी शुरु गरे । हामीले कँही हैन, त्यसै उभिईरहेको भन्ने उत्तर दिएपनि एउटीले हाम्रो शारिरिक हाउभाउ बुझेजस्तो गरी फुर्सद भए चिसो खाऔं न भन्ने प्रस्ताव गरिहालिन । हामी पनि एकैछिन घोत्लिएको जस्तो गरी हुन्छ भनि उनीहरुकै पछि लाग्यौं ।

उनीहरुले हामीलाई बागबजारस्थित भक्तपुर बसपार्कको छेउको साँघुरो गल्लिबाट गेस्ट हाउसको बाटो लिएर गए । त्यहीको एक खाजा पसल देखाउँदै उनीहरुले यहीँ बसेर चिसो खाऔं भनि आग्रह गरे । सायद यहाँनेर हाम्रो उदेश्य र उनीहरुको उदेश्य फरक थियो । हामी हाम्रो उदेश्य पुरा हुने भयो भनि आँफैमा दंग थियौं भने सायद उनीहरु पनि आफ्नो उदेश्य पुरा हुनेभयो भनि दंग थिए ।

हामीले ४ वटा कोक मगायौं र खाँदै गफ गर्यौं । उनीहरुले हाम्रो पृष्ठभुमी बुझ्न चाहेपछि हामीले आँफुलाई सामान्य श्रमिकको रुपमा प्रस्तुत गर्यौं । हामीले पनि उनीहरुको नाम थर र स्थायी घर बुझ्ने जमर्को गर्यौं । उनीहरुले आफ्नो नाम एकले सुमित्रा र अर्कीले प्रेरणा भएको र घर हेटौंडातिर भएको बताए । तर उनीहरुले बताएको तरिका सुन्दा लाग्दैन थियो कि उनीहरुले हामीलाई सत्य बताईरहेका छन ।

सामान्य कुरामात्र भईरहेको थियो, उनीहरु जतिसक्यो चाँडो आफ्नो उदेश्यका लागी हाम्रो समर्थन चाहिरहेका थिए भने हामी चाँही उनीहरुसँगको कुराकानीलाई अर्कोतर्फ डाईभर्ट गरी रुटसम्मनै पुग्न चाहिरहेका थियौं । तर उनीहरु आफ्ना व्यक्तिगत र पारिवारिक कुराहरु बताउन चाहिरहेका थिएनन् ।

उनीहरुको आसय बुझिसकेको हामीलाई उनीहरुले घुमाउरो भाषामा शारिरिक सम्पर्कको प्रस्ताव राखे । हामीले मुल्यको बिषयमा कुरा गरेपछि उनीहरुले एक पटकको लागी २ हजार र रातभरीको लागी ५ हजारको प्रस्ताव गरे । हामीले महंगो भयो भनिसकेपछि उनीहरुले नयाँ ग्राहक भएको आशय सहित छुट दिन तयार भएको जनाउ दिए । अन्तिममा उनीहरुले एकपटकको लागी १५ सय रुपियाँसम्म र रातभरीलाई ४ हजारसम्मको प्रस्ताव गरे ।

हामीले उनीहरुलाई कुन ठाउँमा जाने भन्दा पुरानो बसपार्क नजिकै आँफुहरुको छुट्टै कोठा भएको बताए । यो सँगै उनीहरुले पटक–पटक छिटो जाउँन त भनि हामीलाई दबाब दिन थालेपछि आँफुहरुले हामी पत्रकार भएको बतायौं । शब्द भुईमा झर्न नपाउँदै उनीहरुको आँखाको रंग र चेहरा नै परिवर्तन भयो । हामीले उनीहरुको प्रस्ताव अस्वीकार गर्ने वित्तिकै एउटी युवती जुरुक्क उठिन र गालीको हाउभाउ सहित बाहिर निस्कन लागिन ।

हामीले सम्झाउन चाह्यौं र हामी उनीहरुको दुखेसो सुन्न चाहेको र यसलाई हल गर्नका लागी हाम्रो सानो कदमले पनि राज्यका बिभिन्न पदमा पदाशिनहरुलाई दवाव सृजना गर्न सक्छ भन्ने आशय व्यक्त गर्यौं । तर उनीहरुले यसलाई बुझ्ने धैर्यता देखाउन चाहेनन् । उनीहरु आफुहरुलाई ग्राहकको खाँचो नभएको आशयमा भुत्भुताउँदै निस्किए । त्यसपछि हामी ४ वटा कोकको पैसा तिरेर त्यहाँबाट उनीहरुलाई पछ्याउँदै पुन: रत्नपार्कतिर लाग्यौं तर उनीहरु कता लागे हामीले पछ्याउन सकेनौं ।

राजधानी काठमाडौंको अध्यारो पाटो हो, अवैध देह व्यापार । तर, अवैध, गैर–कानुनी र प्रतिबन्धित अवस्थामा पनि यस्तो व्यापार यहाँ सामान्य भइसकेको छ । बिहान १० बजेदेखि नै काठमाडौंका चोकचोकमा यस्ता युवतीहरु ग्राहकको प्रतिक्षामा बसेको भेटिनुले यही संकेत गर्छ । राजधानीको मुटु खुल्लामञ्चको प्रवेशद्वारदेखि रत्नपार्कस्थित महानगरीय प्रहरी आयुक्तको कार्यालय अगाडीसम्म हरेक दिन बिहान १० बजेदेखि साँझसम्म नै महिला यौनकर्मीहरु ग्राहक कुरेर बसिरहेका हुन्छन् । उमेरले अधबैंशे देखि १६/१८ बर्षसम्मका युवतीहरु ग्राहकको पर्खाइमा भेटिन्छन् ।

रत्नपार्कको छेउमा छ्यापछ्याप्ती भेटिने यस्ता युवतीहरु रहर भन्दा पनि घरायसी आर्थिक अवस्था, पारिवारिक कलह, बाबुले अर्को श्रीमति ल्याउने र आमा अन्यत्रै जाँदा अलपत्र परेका र अन्य प्राकृतिक बिपत्तिका कारण जिविकोपार्जनको लागी यस्तो पेशामा लाग्ने गरेको केही अघि एक कार्यक्रममा यस सम्बन्धी एक अध्ययन प्रतिवेदन सार्वजानिक गरिएको थियो ।

रत्नपार्क, वसपार्क वा यस्तै ठाउँका चोकहरुमा भेटिने यस्ता युवतीहरुले देहव्यापारबाट मनग्यै आम्दानी गर्ने गरेका छन । यही आम्दानीको पैसाले निकै आकर्षक पहिरनमा उनीहरु चोक–चोकमा अस्वभाविक हाउभाउ देखाउँदै आँफैले ग्राहक खोज्छन् र कतिपयलाई नियमित ग्राहक पनि बनाउने गरेका छन ।

नेपालमा सरकारले देह व्यापारलाई कानूनी मान्यता दिएको छैन तसर्थ यो गैरकानुनी र अबैधानिक गतिविधी हो । बेलाबखतमा प्रहरीले यस्ता गतिविधीहरुमा संलग्नहरुलाई समातेर थुन्ने गरेपनि पुनः छुटेपछि सोही पेशामा नै लाग्ने गरेको एक प्रहरी निरिक्षक बताउँछन । नेपालको राजधानी काठमाडौँ लगायतका अन्य प्रमुख शहरहरु पोखरा, इटहरी, बुटवल, बिराटनगर जस्ता ठाउँहरुमा खुलमखुला देह व्यापारको मोलमलाई हुने गरेको पाइन्छ ।

राजधानी काठमाडौमा सडक छेउछाउमा भेटिने यी महिला तथा युवतीहरुले दैनिक १ हजारदेखि ५ हजारसम्म कमाउने गरेका छन् । केही समय अघि गौशाला चोकमा हाम्रा सहकर्मीले यस्तै पेशामा संलग्न दलित र गरिब पारिवारिक पृष्ठभुमी भएकी युवतीसँग कुराकानी गर्दा उनले घरमा बिरामी भाई र बुबा मात्र भएको हुँदा पारिवारिक बाध्यताको कारण यस्तो पेशामा लाग्नु परेको बताएकी थिईन । उनले कुनै दिन ग्राहक नै नहुने तर कुनैदिन २/३ जना सम्म हुने गरेको बताएकी थिईन । उनकै भनाईलाई आधार मान्दा पनि उनले औसतमा मासिक ४० हजारसम्म कमाउने गरेको बताएकी थिईन ।

नेपालमा यस्तो अबैद्य देहव्यापारमा संलग्न युवती वा महिलाहरु कति छन भन्ने औपचारिक तथ्यांक नभएपनि देशभरीमा हज्जारौंको संख्यामा युवती तथा महिलाहरु यस्तो कार्यमा संलग्न छन् । बिगत ५ बर्षदेखी रत्नपार्कमा रेडिमेड कपडाहरु बेच्दै आएका काभ्रेका धनप्रसाद पौडेलका अनुसार रत्नपार्क चोक मै ४०/५० भन्दा बढि युवतीहरु खुलमखुला शारिरिक सम्बन्धको व्यापार गर्ने गर्छन् । उनका अनुसार मजदुर पृष्ठभुमीका युवा तथा अधबैंशेहरु उनीहरुका ग्राहक हुने गरेका छन । रत्नपार्कमा खुलेआम देह व्यापार चलिरहँदा पनि करिब १० मिटरको दुरीमा रहेको प्रहरी प्रभागले भने यसलाई रोक्न सकेको छैन् ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक प्रद्युम्न कार्की समक्ष देह व्यापारको नियन्त्रण किन नगरेको भन्दा उनले आँफुहरुले प्रयास गरिरहेको तर उनीहरुसँग लुकामारी खेलेको जस्तो भईरहेको बताए । उनले अहिले भुकम्पपछि घरबार गुमाएकाहरु, काठमाडौंमा बसाइसरी आएकाहरु पनि यस्तो पेशामा लाग्न थालेको बताए ।

यसको नियन्त्रणको लागि महिला तथा बालबालिका मन्त्रालय, महिला विकास कार्यालय, समाज कल्याण परिषद् र महिलाको हक हितको लागि स्थापना भएका सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले एकिकृत रुपमा काम गर्नुपर्ने उपरिक्षक कार्कीको टिप्पणी छ । ज्यादै गरिब, असहाय तथा पारिवारिक रुपमा पिडित महिला तथा युवतीहरुहरुलाई वैकल्पिक पेशा र रोजगारीको व्यवस्था गर्न नसक्दा सम्म यसमा लाग्ने युवती तथा महिलाहरुको संख्या घटाउन नसकिने उनको निश्कर्ष छ । ऋग देवकोटा/आर्थिक न्युजबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..