
न्युयोर्क ।संसदले मेक्सिकोको सीमामा पर्खाल लगाउन बजेट दिएमा १८ लाख अवैध आप्रवासीलाई अमेरिकी नागरिकता दिने प्रस्ताव राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले गर्ने भएको छ ।
मेक्सिकोमा पर्खाल लगाउने चुनावी बाचा गरेर ह्वाइट हाउसको यात्रा गरेका ट्रम्पको यस योजनालाई संसदले समर्थन नगरेपछि विकल्पमा नयाँ योजना ल्याउन लागिएको बताइएको छ । यस योजनामा समर्थन खोज्न ट्रम्प प्रशासनले डेमोक्रेट सांसदसँग छलफल गर्ने भएको छ ।
सोमबार ल्याइने विधेयकमा मेक्सिकोको सीमामा पर्खाल लगाउन २५ बिलियन डलर माग गरिने ह्वाइट हाउसका नीति प्रमुख स्टीफन मिलरले रिपब्लिकन सांसदसँगको सामूहिक टेलिफोन वार्तामा जानकारी दिएका हुन् ।
संसद यो रकम दिन राजी भएमा १८ लाख व्यक्तिलाई १०÷१२ वर्षमा नागरिकता प्रदान गरिनेछ । यद्यपि, डेमोक्रेट यस योजनाको सख्त विपक्षमा रहेका छन् ।
यसैबीच राष्ट्रपति ट्रम्पले प्यालेष्टाइनलाई दिइँदै आएको वित्तीय र सुरक्षा सहयोग रोक्ने धम्की दिनुभएको छ । प्यालेष्टाइन शान्ति वार्ताका लागि तयार नभएमा वित्तीय र सुरक्षा सहयोग रोक्ने ट्रम्पको चेतावनी छ ।