दुर्गमका गर्भवती र सुत्केरी महिलाको लागि एयर एम्बुलेन्स सेवा, बच्ला त ज्यान ?

काठमाडौ । सरकारले दुर्गमक्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई हवाई सेवामार्फत् उद्धार गर्ने भएको छ । ग्रामीण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई उद्धार गरिने सरकारले जनाएको छ ।

सरकारले नीति तथा कार्यक्रममा नै यो सेवाको घोषणा गरेको थियो । आपत्कालिन उद्धार गर्न एयर एम्बुलेन्सको प्रबन्ध गर्ने विषय कार्यान्वयन गर्न कार्यविधि समेत पारित गरिसकेको छ । दुर्गमका ३४ जिल्लामा सञ्चालन हुने यो सेवा सुत्केरी र गर्भवती महिलाहरुले प्राप्त गर्नेछन् ।

यो सेवा सुरुभएसँगै बच्चा जन्माउन नसकेर मृत्यु हुने महिलाको संख्यामा कमी आउने सरकारको विश्वास छ । गत वर्षमात्रै कालिकोट जिल्लामा सुत्केरी हुने क्रममा ३ जनाको मृत्यु भएको थियो भने हुम्लामा वार्षिक झन्डै १० जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

समयमा नै अस्पताल पुराउन नसक्दा वर्षमा १ सय ७० गर्भवती र सुत्केरीको मृत्यु हुने गरेको छ । तथ्याङ्क अनुसार समयमा नै अस्पताल नपुग्दा १ हजार शिशुमा १७ जनाको जन्मने क्रममा नै मृत्यु हुने गरेको छ ।

यो समस्या कम गर्न भन्दै सरकारले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५ स्वीकृत गरेको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी सरकारले तोकेको अस्पतालमार्फत् गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने योजनालाई कार्यान्वयन गर्न कार्यविधि बनाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख अञ्जु ढुङ्गानाले बताउनुभयो ।

नेपालमा प्रत्येक वर्ष ७ लाख सुत्केरी हुने गरेका छन् भने दिनमा १ हजार ९ सयको हाराहारीमा सुत्केरी हुने गरेको तथ्याङक सरकारको छ । जसमध्ये २७ प्रतिशत गर्भवती अझैं अस्पताल बाहिरै सुत्केरी हुने गरेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

सरकारले यहि आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा ग्रामीण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको आपत्कालिन उद्धार गर्न ‘एयर एम्बुलेन्स’को प्रबन्ध मिलाईने घोषणा गरेको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..