नयाँ कुरा सिक्ने फरक फरक तरिका के के छन्?

तपाईँ रुसी भाषा सिक्नुस् वा अरेबिक। अथवा कवान्टम फिजिक्सनै सिक्नुस्। कुनै पनि नयाँ कुरा निकै कठिन लाग्न सक्छ तर हाम्रो दिमाग जे सिक्न पनि तयार हुन्छ र छिटो सिक्छ।

कमसेकम सिक्ने प्रक्रियाको सुरुवाती चरणमा। कुनै पनि नयाँ विषय वा सीपको सिकाइमा पहिलो २० घन्टा निकै उत्पादनशील र छिटो हुने विभिन्न अनुसन्धानले देखाएको छ।

यतिबेला नयाँ कुरा सिक्ने उत्कट चाहना र नयाँ उत्तेजनाप्रति दिमागले प्रतिक्रिया दिन सक्ने क्षमताका कारण दिमागको गति सबैभन्दा उच्च रहने बताइन्छ।

दिमागले नयाँ विषयवस्तु र जानकारीहरू कसरी बटुल्छ भन्नेबारे अध्ययन गर्ने १९औँ शताब्दीका जर्मन दार्शनिक तथा मनोविद् हर्मन एबिन्गस पहिलो व्यक्ति हुन्।

उनले नयाँ सीप र त्यसको सिकाइमा लाग्ने समयको सम्बन्धबारे सिकाइको अवस्थाको अवधारणा ल्याएका थिए। उनले सो कुरा स्पष्ट पार्न एउटा ग्राफमा ज्ञानलाई ठाडो ‘वाइ’ एक्सिस र समयलाई तेर्सो ‘एक्स’ एक्सिसमा राखे।

एबिन्गसले पहिलो केही घन्टामा नयाँ कुरा सिक्नमा जति बढी समय बितायो त्यति नै बढी ज्ञान हासिल भएको अनुभव गरे।

ग्राफमा रहेको रेखा सीधै माथि पुगेको उनले बताएका थिए।

तर केही समयपछि दिमागको सिक्ने क्षमतामा क्रमश कमी आउने र नयाँ कुरा सिक्ने र दिमागमा सुरक्षित राख्ने सन्दर्भमा उल्लेख्य कमी आउने देखे।

आजभोलि एबिन्गसको ग्राफ नयाँ सीप सिक्न लाग्ने समयको अनुमान लगाउन र व्यापारिक क्षेत्रमा उत्पादनशीलताको विश्लेषण गर्न उपयोग गरिँदै आएको छ।

जब हामी नयाँ कुरा सिक्न थाल्छौँ सुरुवाती २० घन्टाको समय निकै प्रभावकारी र उत्पादनमुलक बन्छ किनभने जब हामी नयाँ विषयवस्तुसँग सम्पर्कमा आउछौँ हाम्रो दिमागले त्यसबारे प्रतिक्रिया दिन सुरु गर्छ र त्यसबारे पर्याप्त जानकारीहरू संग्रहित गर्छ।

समय लम्बिदै जाँदा ती विषयवस्तु दोहोरिन थाल्छन् र दिमागको प्रतिक्रिया दिने क्षमतामा कमी आउँछ।

चाँडो सिक्ने प्रक्रिया रोकिन्छ र यो अवस्थालाई बानी परेको अवस्था भनिन्छ जहाँ हामी ढिलो गतिमा सिक्न थाल्छौँ।

त्यसै कारण कुनै नयाँ कुराहरूको अध्ययन गर्दा जति नै जटिल लागे पनि त्यसबारे सुरुमै धेरै र चाँडो सिक्छौँ।

सिक्ने फरक फरक तरिका

अमेरिकी लेखक जोश कोफमान जो उत्पादनशीलता सुधारका उपायहरू सिकाउँछन् उनी सिकाइका यी सुरुवाती समयको शक्तिबारे दृढ विश्वास राख्छन्।

यही विश्वासको आधारमा उनको पुस्तक ‘द फर्स्ट ट्वान्टी आवर्स: मास्टरिङ द टफेस्ट पार्ट अफ लर्निङ एनिथिङ’ सबैभन्दा धेरै विक्री भएको पुस्तक बन्न सफल भयो।

सो किताबमा सिकाइका २० घन्टालाई दैनिक ४५ मिनेटको हिसाबले एक महिनामा बाँडे।

उनी भन्छन्, “तिमी विज्ञ नै त बन्दैनौ। तर २० घन्टाको पक्का कामपछि नयाँ कुरा सिक्न तिमीले भोगिरहेको चुनौती र त्यसले तिमीमा जगाउने निराशाबाट मुक्ति पाउनेछौ। र, एकपटक तिमी सक्षम भएपछि त्यसलाई निखार्दै अघि बढ्न सक्छौ।”

नयाँ कुरा सिक्ने अर्को नयाँ तरिका भनेको ‘फाइभ आवर रुल’ हो। जसअन्तर्गत हप्तामा पाँच दिन दैनिक एक घन्टा नयाँ कुराहरूको अध्ययन गर्ने हो।

संयुक्त राज्य अमेरिकाका संस्थापक बेन्जामिन फ्र्याङ्कलिन दैनिक निश्चित समय नयाँ ज्ञान हासिल गर्न र सोच्न छुट्याउने अभ्यासमा वकालत गर्ने प्रखर व्यक्ति हुन्। उनी सोमवारदेखि शुक्रवार दैनिक एक घन्टा केही नयाँ ज्ञान हासिल गर्न बिताउनु पर्ने बताउँथे।

विज्ञहरूका अनुसार यदि हामी पाँच घन्टे नियममा अडिग रहन सक्यौँ भने हरेक चार घन्टामा नयाँ सीप सिक्न सक्छौँ। सिकाइका लागि समय तोक्ने अवधारणाका विश्वभरी हजारौँ समर्थकहरू छन् र यसका अनेक उपायहरू पनि छन्।

विश्वका अति सफल व्यापारीहरू ओपरा विनफ्रे, बिल गेट्स, इलोन मस्क, वारेन बफेट वा मार्क जुकरबर्गलाई सफलताको कारणबारे सोध्दा उनीहरूले सिकाइका लागि दैनिक निश्चित समय दिने गरेको बताएका छन्।

सिक्ने चाहना र त्यसको लागि अनुशासन कायम गरे निरन्तर ज्ञान आर्जन गर्न सकिन्छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..