दिल्लीमा एक छात्राको बलात्कार भएको ६ वर्ष पुगेकै दिन अर्की बालिका बालात्कृत

भारतको राजधानी दिल्लीमा छिमेकीबाट बलात्कृत भएको भनिएकी एक तीन वर्षीया बालिकाको अवस्था गम्भीर छ। बालिका बस्ने गरेको भवनमा सुरक्षा गार्डका रूपमा कार्यरत ४० वर्षीय आरोपीलाई पक्राउ गरिएको छ।

अचेत अवस्थामा फेला परेकी बालिकालाई प्रहरीले लगत्तै अस्पताल पुर्‍याएका थिए जहाँ उनको शल्यक्रिया भइरहेको छ। दिल्लीमा एउटा बसमा एक किशोरीको क्रुरतापूर्वक बलात्कार गरिएको घटनाको ६ वर्ष पुगेकै दिन आइतवार पछिल्लो घटना भएको हो।

पक्राउ
दिल्लीकी महिला आयुक्त स्वाती मालिवालले पछिल्लो घटना ६ वर्षअघिको घटनाभन्दा पनि “निराश तुल्याउने” खालको भएको बताएकी छन्। सो घटनापछि भारतभरि प्रदर्शन भएका थिए।

बालिकाको अवस्थाबारे स्पष्ट हुन सकेको छैन अथवा उनी बाँच्न सफल हुने वा नहुने थाहा हुन सकेको छैन। स्थानीय सञ्चारमाध्यमहरूले घटनालाई “जघन्य” भनेका छन्।

टाइम्स अफ इन्डिया पत्रिकाका अनुसार घटनाबारे प्रकाशमा आएपछि स्थानीयवासीले आरोपितलाई पत्ता लगाएका थिए र कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका आरोपितलाई उपचार गराइ प्रहरीले नियन्त्रणमा लिएको सो पत्रिकाले जनाएको छ।

पीडित बालिकाका आमाबुवा दैनिक ज्यालादारी गर्छन् र घटनाका बेला उनीहरू घरमा थिएनन्। आरोपित व्यक्तिले मिठाइको प्रलोभन देखाएर बालिकालाई घर बाहिर लगेका थिए।

प्रहरीले आरोपितविरुद्ध बालबालिकालाई यौन आक्रमणबाट जोगाउने ऐन अन्तर्गत मुद्दा दर्ता गराएका छन्, जसअनुसार आरोप प्रमाणित भए दोषीलाई मृत्युदण्ड हुनसक्छ।

पछिल्लो बलात्कारको घटनाले भारतमा फेरि आक्रोश निम्त्याएको छ। गत एप्रिलमा भारत प्रशासित कश्मीरमा एक आठ वर्षीया बलिकाको बलात्कारपछि हत्या गरिएको घटनाले सञ्चारमाध्यममा निकै चर्चा पाएको थियो।

गत जुनमा मध्यप्रदेशमा एक सात वर्षीया बालिकाको बलात्कार भएको घटनाको विरोधमा सयौँ मानिसहरू सडकमा उत्रिएका थिए।

भारतमा यौन दुर्व्यवहारको अवस्था
-प्रत्येक १५५ मिनेटमा १६ वर्षमुनिकी एक बालिका र प्रत्येक १३ घण्टामा १० वर्षमुनिकी एक बालिकाको बलात्कार हुने गर्छ।
-सन् २०१२ मा ८,५४१ जना बालबालिकाको बलात्कार भएकोमा सन् २०१६ मा १९,७६५ जनाको बलात्कार भएको थियो।
-सन् २०१५ मा १० हजार बालबालिकाको बलात्कार भएको थियो।
भारतमा २४ करोड महिलाको १८ वर्ष नपुग्दै बिहे भएको थियो।
-सरकारी अध्ययनमा सामेलमध्ये ५३.२२ प्रतिशत बालबालिकाले कुनै न कुनै प्रकारको यौन दुर्व्यवहारमा परेको बताएका छन्
-यौन दुर्व्यवहार गर्ने ५० प्रतिशत मानिसहरू बालबालिकाले चिनेका अथवा विश्वासिला र तिनको हेरचार गर्ने रहेको पाइएको छ।
स्रोतः भारत सरकार, युनिसेफ

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..