खुल्ला मञ्चमा २१४५ औं लोसार महोत्सव

काठमाडौं । २१४५ औं ग्याल्बो लोसार यस बर्ष शेर्पा र तामाङ समुदायले संयूक्त रुपमा मनाउने भएका छन् ।

राजधानीको खुल्ला मञ्चमा विशेष कार्यक्रम आयोजना गरेर लोसार मनाउन लागेका हुन । हिमालयन शेर्पा सांस्कृतीक केन्द्र र नेपाल तामाङ बौद्ध महासंघले फागुन ४ गतेलाई लक्षित गरी विभिन्न कार्यक्रम सहित लोसार महोत्सव मनाउन लागेको आयोजक संस्था मध्ये सांस्कृतीक केन्द्रका अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए ।

लोसारलाई भव्यताका साथ मनाउन विभिन्न संस्था र किदुगहरुसँग चरणबद्ध छलफलसमेत सम्पन्न गरेको महासचिव सेर्कु शेर्पाले जानकारी दिए । लोसार र्याली, साम्दे शेर्पा वातृत्वकला प्रतियोगिता, साम्दे शेर्पा राष्ट्रिय पुरस्कार वितरण लगायतका कार्यक्रमहरुसहित लोसार महोत्सव आयोजना हुने शेर्पाले बताए ।

शेर्पा समुदायका विभिन्न संस्थालाई सहआयोजकको जिम्मेवारी दिएको जनाउँदै बरिष्ठ उपाध्यक्ष डोमा शेर्पाका अनुसार स्वयमसेवक परिचालनको जिम्मेवारी संखुवासभा शेर्पा किदुगलाई दिइएको छ भने सम्पूर्ण शेर्पा किदुगहरुलाई सह संयोजकको भूमिका निर्वाह गर्ने भएका छन् । लोसार कार्यक्रममा फागुन ३ गते सूचना तथा सञ्चार मन्त्री मोहन वस्नेत फागुन ४ गते उपराष्ट्रपति नन्दबहादुर पुनमगर प्रमुख अतिथिको रुपमा रहने आयोजकले जनाएको छ । लोसारलाई सप्ताहव्यापी उत्सवको रुपमा मनाउँदै यसबाट समुदायमा विशेष जागरण सिर्जना गराउन विभिन्न सांस्कृतीक कार्यक्रमहरु समेत समेटिएको जनाएको छ । कार्यक्रममा शेर्पा, तामाङ लगायतबाट चर्चित कलाकारहरुको समेत वेजोड प्रस्तुती रहने जनाएको छ ।

समुदायमा लोसारको सांस्कृतीक महत्व बुझाउँदै निरन्तरता र थप पारिस्कृत रुपमा अघि बढाउन लोसार गुथुकले समेत विशेष भूमिका निर्वाह गरेको आयोजक संस्थाका अधिकारीहरु बताउँछन् । ग्याल्पो लोसार संस्थागत रुपमा राष्ट्रिय चाडको रुपमा विकास गर्न कार्यक्रमले टेवा पुग्ने जनाएको छ ।

शनिबार बसेको वैठकले र्यालीमा अनिवार्य शेर्पा पोशकमा उपस्थित हुनुपर्ने, सबै संस्थाले आपनत्व महशुस गर्दै कार्यक्रममा सफल बनाउन भूमिका निर्वाह गर्नुपर्ने समेत निर्णय गरेको छ । लोसारको तयारीका लागि हिमालयन शेर्पा सांस्कृतीक केन्द्रले अभियान नै चालेर तयारी गरिरहेको जनाएको छ । – लाक्पा जी. शेर्पा

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..