मृत शरीरको प्रतिकृति निर्माण गर्दै चिडियाखाना

काठमाडौँ। सदर चिडियाखानाले अवलोकनकर्ताका लागि संरक्षित जीवजन्तुको मृत शरीरको प्रतिकृति बनाएर राख्ने भएको छ ।

चिडियाखानाका व्यवस्थापक प्रमुख डा चिरञ्जीवी पोखरेलले भन्नुभयो, “यसअघि विभिन्न कारण वा उमेर पुगेका मृत्यु भएका जनावरको प्रतिकृति बनाउने प्रचलन थिएन, यो पहिलो पटक गर्न लागिएको हो ।” चिडियाखानामा संरक्षित गरी अवलोकनका लागि राखिएका जनावर मरेमा ती जीवजनावरको भित्री भागलाई फालेर छालाको मात्रै प्रयोग गरी प्रतिकृति निर्माण गरिने छ । 

“मृत जनावरको प्रतिकृति बनाउनका लागि स्थान निर्माणको काम भइरहेको छ, केही महीनाभित्र उक्त स्थान निर्माणको काम सम्पन्न हुन्छ, राख्ने स्थान निर्माण सकेसँगै चिडियाखानाले उक्त कार्य गर्न शुरु गर्ने छ”, प्रमुख पोखरेलले भन्नुभयो । चिडियाखानामा राखिएका जनावर मरेपछि पहिले कस्ता किसिमका जनावर राखिएको थियो भन्ने जानकारी दर्शकले प्रतिकृतिमार्फत पाउनेछन् । 

स्थानको अभाव र सधैँ सबै प्रकारका जनावर नपाउने भएको हँुदा पनि कुन समयमा कुन जनावर सर्वसाधारणका लागि राखिएको थियो, अहिले उक्त जनावर छ कि छैन भन्ने जानकारी अवलोकनकर्तालाई दिनु यसको मुख्य उद्देश्य रहेको चिडियाखानाले जनाएको छ । सबै संरक्षित जीवको प्रतिकृति राख्न नसके पनि मुख्यगरी बाघ, भालु, गैँडा, हात्ती, रातो पाण्डा, वनमान्छे, रिङटेल्ड लिमर, मयूर, डाँफेजस्ता जीव जनावरको प्रतिकृति बनाइने छ । 

उक्त स्थान चिडियाखानाको टिकटघर नजीकै तय गरिएको छ जहाँ दर्शकले भित्र प्रवेश गर्नेबित्तिकै देख्न पाउनेछन् । हाल चिडियाखानाको ६ हेक्टर क्षेत्रफलमा १२७ प्रजातिका एक हजार दुई १९ जीवजन्तु छन् । केही वर्षअघि ८०० जीवजन्तु रहेकामा गत वर्ष धेरै चरा ल्याइएकाले सङ्ख्या बढेको चिडियाखानाका सूचना अधिकारी लिना चालिसेले बताउनुभयो । 

गत आर्थिक वर्षमा अवलोकनकर्ताबाट रु १४ करोडको आम्दानी गरेको चिडियाखानामा एक लाख स्वदेशी र विदेशी पाहुना जीवजन्तु हेर्न पुगेका थिए । चिडियाखाना अवलोकन गर्न १२ वर्षमुनिकालाई रु ५०, विद्यार्थीलाई रु १००, सर्वसाधारणलाई रु १५०, सार्क राष्ट्रका पाहुनालाई रु २२० र अन्य देशका नागरिकलाई रु ७५० प्रवेश शुल्क तोकिएको छ । अघिल्लो आर्थिक वर्षमा अवलोकनकर्ताबाट रु १२ करोड आम्दानी गरिएको थियो । तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेर राणाले आफ्नो निजी प्रयोगका लागि निर्माण गर्नुभएको थियो । चिडियाखाना तेइस वर्षदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत रही व्यवस्थापन हुँदै आएको छ । अहिले चिडियाखानामा ७५ कर्मचारी कार्यरत रहनुभएको छ । 

त्यसैगरी चिडियाखानाले अहिले जीवजनावरलाई गर्नुपर्ने व्यवहार कस्तो हुनुपर्छ भन्ने शिक्षा दिनका लागि ‘जुको साथी’ भन्ने कार्यक्रम शुरु गरेको छ जसअन्तर्गत काठमाडौँ उपत्यकाका पाँच सय विद्यालयका ८० विद्यार्थीले साथीका रुपमा रही आलोपालो गरी चिडियाखानामा रहेका जीवजनावरलाई खुवाउने र स्याहारसम्भार गर्ने गरेकोसूचना अधिकारी चालिसेले जानकारी दिनुभयो । 

त्यस्तै पछिल्लो समय चिडियाखानाले राति पनि अवलोकन गर्न सक्ने व्यवस्था गरेको छ । राति अवलोकन गर्दा थप मनोरञ्जन लिन सकिने बाघ, भालुजस्ता १४ स्तनधारी जनावरको अवलोकन गर्न अवलोकनकर्ता आउने गरेको चालिसे बताउनुहुन्छ । साँझ ४ः३० देखि ७ बजेसम्म अवलोकनकर्ताका लागि समय तोकिएको छ । सो समयमा एक सय जनासम्मले अवलोकनकर्ता आउने गरेका छन् । 

– शर्मिला पाठक (रासस)

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..