संविधान संशोधन भए फोरम सरकारमा सहभागी हुन तयार

काठमाडौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि वाम गठबन्धन तयार भए आफूहरु सरकारमा सहभागी हुन तयार रहेको बताउनुभएको छ ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले संविधान संशोधनका मुद्दाका बारेमा गठबन्धनले स्पष्ट धारणा दिनुपर्ने र उक्त धारणासँग आफूहरु सहमत भएको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको बताउनुभएको हो ।

यादवले माओवादी र कांग्रेस विगतमा नै संविधान संशोधनका लागि तयार भएको स्मरण गराउँदै अब एमालेले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने उल्लेख गर्नुभयो । यद्धपी उहाले एमाले–माओवादी नेतृत्वको बाम गठबन्धनले सरकार चलाउनका लागि स्पष्ट जनादेश पाएकाले आफूहरु सरकारमा जान आवश्यक भने नरहेको जिकिर गर्नुभयो । आफूहरु अहिलेपनि आन्दोलनरत पक्ष भएकाले संविधान संशोधनको मुद्दा छिनोफानो नभएसम्म सरकारमा सहभागी हुन नसक्ने उहाको भनाई छ ।

प्रदेश नम्बर दुई सबैभन्दा बढि पिछडिएको क्षेत्र भएकाले त्यहाँ बन्ने सरकारले आर्थिक विकासलाई प्राथमिकता दिने यादवले बताउनुभयो । प्रदेश नम्बर दुईको विकासका लागि केन्द्रिय सरकारले पनि सहयोग गर्नुपर्ने उहाले जिकिर गर्नुभयो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..