‘वातावरण संरक्षणमा बौद्ध दर्शनबाट सिकेको पाठ’ विषयक गोष्ठी आयोजित

काठमाडौ । माघ १८ गते बिहीवारका दिन नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शन विभाग र धर्मकीर्ति विहार संरक्षण कोषको सहकार्यमा ‘वातावरण संरक्षणमा बौद्ध दर्शनबाट सिकेको पाठ’ विषयक विचार गोष्ठी आयोजना गरियो ।

गोष्ठीमा अखिल नेपाल भिक्षु महासङ्घका सचिव कौडिन्य भन्तेले गोष्ठीलाई सम्बोधन गर्दै आजको युगमा बौद्ध दर्शनको ठूलो महत्व रहेको बताउनुभयो । उहाँले प्रकृतिसँगको सामीप्यमा बुद्धले जीवन व्यतीत गर्नुभएको उल्लेख गर्नुहुँदै पर्यावरण तथा वातावरणको संरक्षणमा बौद्ध दर्शनबाट अथाह ज्ञान हासिल गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बौद्ध धर्म तथा दर्शन आफँैमा बहुआयामिक रहेको बताउँदै विश्वका अनेक दर्शन यसै दर्शनबाट प्रभावित रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “मानव जीवनलाई सही निर्देश गर्ने दर्शन भनेकै बौद्ध दर्शन हो ।”

प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले समाजलाई स्वच्छ र स्वस्थ बनाइराख्न धर्म र दर्शनको अपरिहार्य महत्व रहने धारणा व्यक्त गर्नुभयो ।

प्रज्ञा–प्रतिष्ठानका दर्शन विभाग प्रमुख प्रा. दिनेशराज पन्तले वातावरण संरक्षणप्रति पितापुर्खा निकै सचेत रहेको विचार प्रकट गर्दै हामीले त्यसको अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।

गोष्ठीमा उपप्राध्यापक अमिताशोभा ताम्राकारद्वारा ‘वातावरण संरक्षणमा बौद्ध दर्शनबाट सिकेको पाठ’ विषयक गोष्ठीपत्र प्रस्तुत गरिएको थियो । उपप्राध्यापक डा. रश्मि राजकर्णिकारले गोष्ठीपत्रमाथि टिप्पणी गर्नुभएको थियो भने संरक्षण कोषकी सचिव प्रफुल्लकमल ताम्राकारले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..