ब्रिटिश प्रधानमन्त्री टरिजा मे अविश्वासको प्रस्तावमा झिनो मत अन्तरले बच्न सफल

संसद्‍मा आफूविरुद्धको अविश्वासको प्रस्तावमा झिनो मतले जित्न सफल भएकी ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले सांसदहरूलाई अब ब्रेक्जिट अर्थात् ब्रिटेन युरोपेली संघ इयुबाट बाहिरिने प्रक्रियालाई मूर्त रूप दिनका लागि मिलेर काम गर्न आग्रह गरेकी छन्।

उनले सांसदहरूले “निजी स्वार्थ त्यागेर सबैको हितका लागि काम गर्नु पर्ने”मा जोड दिइन्। टरिजा मेविरुद्ध संसद्‍मा ल्याइएको अविश्वासको प्रस्तावको पक्षमा ३०६ मत परेको थियो भने त्यसको विपक्ष अर्थात् मेको पक्षमा ३२५ मत परेको थियो।

केही विद्रोही टोरी सांसद र डीयूपीले उनको पक्षमा मत दिएपछि उनको प्रधानमन्त्री पद जोगिएको हो। तर २४ घन्टा अघिसम्म पनि दुवै पक्ष मेको ब्रेक्जिट योजनालाई विफल तुल्याउनु पर्ने अडानमा थिए।

अबको बाटो के होला?

बुधवार राति उनले एसएनपी, लिबेरल डिमोक्र्याट र प्लेड सिम्रुका नेताहरूलाई भेटेपनि प्रतिपक्षी लेबर नेता जेरेमी कोर्बिनलाई भेटिनन्। उनले विपक्षी दलका लागि पनि आफ्नो ढोका खुल्लै रहेको बताइन्।

अविश्वासको प्रस्तावबाट बच्न सफल भएलगत्तै संसदमा बोल्दै उनले ब्रिटेनका जनताले ब्रेक्जिटको पक्षमा दिएको जनमत संग्रहको नतिजा स्मरण गराइन्। उनले भनिन्, “अब हामीले राष्ट्रिय हितलाई पहिलो बनाउँदै जनमत संग्रहको परिणाम अनुसार काम गर्ने बेला भएको छ।”

लेबर के चाहन्छ?

कोर्बिनले चाहिँ ब्रेक्जिटबारेको सहमति उल्टिने भएमात्रै आफूले मेसँग वार्ता गर्ने बताएका छन्।

बीबीसीका राजनीतिक संवाददाता लउरा क्वेसबर्ग भन्छिन्, “लेबर के कुरामा प्रष्ट छ भने मेले व्यवस्थित प्रक्रियाबाट मात्रै ब्रिटेनले इयु छोड्ने प्रतिबद्धता व्यक्त नगरेसम्म कोर्बिन वार्तामा जाने छैनन्।”

लेबरका धेरै सदस्यहरू ब्रेक्जिट चाहँदैनन्। मंगलबार राति ब्रिटिश सांसदहरूले मेको ब्रेक्जिट प्रस्तावलाई धेरै मत अन्तरले हराइदिएका थिए।तर मेले भने ब्रिटेनका जनताले ब्रेक्जिट चाहेको र उनीहरूले त्यही देख्न चाहिरहेकोमा जोड दिएकी छन्।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..