भारत–पाकिस्तान सीमा क्षेत्रमा गोलीहानाहान, चार भारतीय सैनिक मारिए

भारत प्रशासित काश्मिरको नियन्त्रण रेखा नजिक राजपुरा सेक्टरमा भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान भएको छ। गोली हानाहानमा भारतीय सेनाका एक अधिकारीसहित चार जना सैनिकको मृत्यु भएको छ।

मारिनेहरुमा क्याप्टेन कपिल कंडु, हवल्दार रोशन लाल, राम अवतार र शुभम सिंह रहेको भारतीय संचार माध्यमले जनाएका छन् ।

पाकिस्तानी सेनाको गोली प्रहारमा रजौरी सेक्टरमा सीमा क्षेत्र वरपरको कयौ क्षेत्र प्रभावित भएको बताइएको छ। अधिकारीहरुका अनुसार पाकिस्तानी सेनाले आइतबार बिहानदेखि नै नियन्त्रण रेखा नजिक पुंछ र रजौरी सेक्टर्समा भारतीय सेनाको चौकीमाथि गोली प्रहार गर्न सुरु गरेको थियो ।जसमा १५ वर्षीय किशोरी र सेनाका एक जवान घाइते भएको बताइएको छ।

रजौरीका कलेक्टर शाहिद एकवाल चौधरीले उक्त क्षेत्रमा भएको भडपका कारण पुरै क्षेत्र तनावग्रस्त बनेको बताए । उनले ट्वीटरमा लेखेका छन् कि आगामी तीन दिनसम्मकालागि नियन्त्रण रेखा क्षेत्रका करिब ८४ वटा विद्यालय बन्द गरिएको छ।

गत महिना पनि नियन्त्रण रेखा नजिकै पाकिस्तानी सेनाको गोली प्रहारबाट १४ जना घाइते भएका थिए । जसमध्ये ८जना आम नागरिक थिए भने ६ जना भारतीय सैनिक थिए । भारत र पाकिस्तान एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..